Close This

डेढ वर्ष पहिले बनिसक्नु पर्ने अस्पताल भवन अझै भएन पूरा

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी,३० पुस ।  डेढ वर्ष पहिले बनि सक्नु पर्ने कैलालीको सेती प्रादेशिक अस्पतालको भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरवाही र काममा ढिलासुस्तीका कारण अझैसम्म भवन निर्माणको कार्य पूरा हुन नसकेको हो ।

सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको भवन बनाउने ठेक्का काठमाण्डौंस्थित स्वयम्भूको एमएस रविना थेगिम जेभीले पाएको थियो । ठेकेदारले तदारुकताका साथ काम नगर्दा २०७७ वैशाख अन्तिममा निर्माण भइसक्नु पर्ने भवन अझैसम्म तयार भएको छैन ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत निर्माणको कार्य भइरहेको छ । ठेकेदारले निर्माणको कार्य सुस्त गतिमा अगाडि बढाउँदा तोकिएको समयमा अस्पताल भवन तयार नभएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका सूचना अधिकारी पुजन न्यौपानेले बताए । ‘अस्पताल भवन निर्माणमा कोरानाले असर ग¥यो ।

त्यसको साथ  भवन निर्माणमा ठेकेदारबाट लापरवाही भएको छ’, उनले भने । ‘हामीले बारम्बार ताकेता गर्दा पनि समयमा काम पूरा भएन ।’ सुरुमा ठेकेदारले तदारुकताका साथ काम नगरेको र पछि कोरोना कहरका कारण अस्पताल भवन निर्माणमा ढिलाइ भएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने उद्देश्यले सो भवन निर्माण गरिदैंछ । बर्थिङ सेन्टर र ल्याबका भवन प्रयोग हुने जनाइएको छ । भ्याटबाहेक निर्माण लागत १८ करोड ६० लाख ९० हजार ९९५ रुपैयाँ रहेको छ । अस्पतालको स्तरोन्नति आवश्यक भएपछि २०७४ कात्तिक २८ गते निर्माण कम्पनीसंग भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । दुई वर्ष पाँच महिना समायवधि तोकिएको सो भवन २०७७ वैशाख २७ गतेसम्म निर्माण गरिसक्नु पर्ने थियो । तर, ठेकेदारको सुस्तताका कारण तोकिएको समयमा निर्माण कार्य पूरा हुन सकेन ।

अघिल्लो समायवधि सकिएको एक वर्ष आठ महिना भइसक्दा पनि अस्पताल भवन अझै अधुरै रहेको छ । तोकिएको समयमा निर्माण कार्य पूरा नभएपछि आगामी चैत मसान्तसम्म म्याद थप गरिएको छ । 
दोस्रो लहरको कोरोना कारण प्रभावित आयोजनाहरुलाई म्याद थप गर्ने नेपाल सरकारको निर्णय बमोजिम सेती प्रादेशिक अस्पताल भवन निर्माणको पनि म्याद थप भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जानकारी दिएको छ ।

अहिले भवनमा फिनिसिङको काम गरिरहेको निर्माण कम्पनीले चैत मसान्तसम्म जसरी भए पनि काम पूरा गर्नु पर्ने सूचना अधिकारी न्यौपानेले बताए । ‘यदि, चैत मसान्तसम्म काम सम्पन्न भएन भने ठेकेदारबाट हर्जाना असुल हुनेछ’, उनले भने । ‘उसले हर्जाना तिरेर काम सम्पन्न गर्नु पर्ने हुन्छ ।’ 

कामको गति हेर्दा थप गरिएको समयावधिमा निर्माण कार्य पूरा हुने सम्भावना कम रहेको जनाइएको छ । ‘यदि, तदारुकताका साथ काम भयो भने तीन महिनाभित्र सबै काम सम्पन्न हुन पनि सक्छ’, न्यौपानेले भने । ‘तर, काममा गति छैन । अब समयमा काम सकिएन भने म्याद थप हुँदैन ।’ यदि, थप गरिएको समयमा पनि काम सम्पन्न नभएमा विशेष कारण भए मन्त्रिपरिषद्लाईमात्रै म्याद थप गर्ने अधिकार रहने गर्दछ । अब थप गरिएको तीन महिना समय बाँकी रहेको छ । बाँकी सबै काम निर्माण कम्पनीले तीन महिनाभित्रै पूरा गर्नु पर्नेछ ।

पहिलो र दोस्रो लहरको कोरोनाका कारण विकास निर्माणका धेरै कार्यहरु प्रभावित भएको थियो । कोरोनाकै कारण धेरै योजनाहरु तोकिएको समयावधिमा पूरा भएनन् । सेती प्रादेशिक अस्पताल परिसरमा बनिरहेको अस्पतालको संरचना निर्माणको कार्य पनि कोरोना लहरको क्रममा ठप्प भएको थियो । 

निर्माण कार्य पूरा भएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्मित संरचना अस्पताललाई हस्तान्तरण गर्ने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले अस्पतालको स्तरोन्नतिको लागि भवन निर्माण भइरहेको बताए ।

यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा पनि सेती प्रादेशिक अस्पतालको लागि ५० शøयाको अर्को भवन निर्माण भएको छ । सो भवनको निर्माण कार्य पूरा भएको श्रेष्ठले जनाए । प्रदेश सरकारबाट बनिरहेको अस्पतालमा अब उपकरण जडान गर्नमात्रै बाँकी रहेको छ ।