Close This

विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द हुने

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
Paschim Today

काठमाडौं,२८ वैशाख । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् ।सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो ।

तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् ।  

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने बताइन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।