Close This

अनावश्यक आयात रोक्न ब्याजदर बृद्धि गर्यौं : गभर्नर अधिकारी

आइतबार जेठ ८, २०७९/ Sunday 05-22-22
Paschim Today

काठमाडौँ,८जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनुपरेको गभर्नर अधिकारीको भनाइ छ ।

आइतबार उद्योग वाणिज्य महासंघले राजधानीमा  आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।   ‘अहिले धेरैजसो उद्योगी व्यवसायीले निक्षेपमा ब्याजदर बढाउँदा पनि निक्षेप संकलन भएन यो गलत भयो भन्दै आउनुभएको छ । यो सत्य पनि हो । तर, यसले अन्ततः आयातलाई नियन्त्रण गरेको छ भन्ने हाम्रो बुझाइ हो । यसले तपाई उद्योग व्यवसायीहरुलाई नै केही सहज भएको छ’ गभर्नर अधिकारीले भने, ‘अहिलेको ब्याजदर वृद्धि अनावश्यक आयात वृद्धि रोक्नकै लागि हो ।’

​​​​​​​सो अवसरमा गभर्नर अधिकारीले भने, ‘पछिल्लो समय नेपालीहरु जित् पनि मूल्य तिरेर बस्तु खरिद गर्नका लागि तयार भइरहेका छन् । यसलाई निरुत्साहित गर्न आवश्यक छ । तर, हामीले कुनै निश्चित क्षेत्रलाई हेरेर नीति बनाएका होइनौं’ उनले स्पष्टिकरण दिए । पछिल्लो समय बैंकिङ ब्याजदर निक्षेपमै अधिकतम ११.०३ प्रतिशत पुर्याउन राष्ट्र बैंकले स्वीकृति दिएसँगै गभर्नर अधिकारीको आलोचना हुँदै आएको छ ।