Close This

बांग्लादेशी गौरवको आयोजना : ६.३ किलोमिटर लामो पद्मा पुल

आइतबार असार १२, २०७९/ Sunday 06-26-22
Paschim Today

एजेन्सी, पद्मा पुल एउटा इँटा र सिमेन्टको थुप्रो मात्रै होइन, यो बांग्लादेशको गौरव, सम्मान र दक्षताको प्रतीकसमेत हो, शनिबार मुलुककै सबैभन्दा लामो पुल उद्घाटन गर्दै बांग्लादेशी प्रधानमन्त्री शेख हसिनाले भनिन् । उनले अगाडि भनिन्, हामीले गर्न सक्छौँ भनेर विश्वलाई देखाएका छौं ।  
भ्रष्टाचारको आरोप लागेपछि विश्व बैंकले समेत हात झिकेको योजना बांग्लादेश सरकारले आफ्नै आन्तरिक स्रोत जुटाएर निर्माण सम्पन्न गरेको हो । मुलुकको दक्षिण(पश्चिम क्षेत्रलाई राजधानी ढाकासँग जोड्ने ४१ वटा स्पानसहितको ६.३ किलोमिटर लम्बाइको पुललाई बांग्लादेशले राष्ट्रिय गौरवुको विषय समेत बनाएको छ । पुलको अप्रोच सडक १२ किलोमिटर रहेको छ । सन् २०१५ को नोभेम्बरबाट निर्माण सुरु गरिएको थियो । चार लेनको यस पुलले सडक र रेलमार्गबाट २१ वटा जिल्लालाई राजधानीसँग जोड्छ ।

पुलको माथिबाट गाडी हिँड्ने सडक छ भने तल रेलमार्ग रहेको छ । पुल बन्नुअघि दक्षिण पश्चिम क्षेत्रका जिल्लाहरूबाट १८०-३०० किलोमिटरको दूरीमा रहेको ढाका आउन १५ देखि २२ घण्टासम्म लाग्ने गरेको थियो । बीडीन्युजका अनुसार पुल निर्माण भएपछि अब कम्तीमा पनि ४-६ घण्टा समय बचत हुनेछ । केही ठाउँबाट त अझै छिटोसमेत पुगिने बताइएको छ । फेरीलगायतबाट करिब २ हजार गाडी आवतजावत भएकोमा अब दैनिक २४ हजार गाडी आवतजावत हुने बताइएको छ ।

महत्त्वाकांक्षी योजना

३‍.८७ अर्ब अमेरिकी डलर (झन्डै ५ खर्ब नेपाली रुपैयाँ) को यो योजना बांग्लादेशको ठूला परियोजनामध्येको एक हो । सन् २०१५ मा भ्रष्टाचारको आरोप लागेपछि विश्व बैंकले १.२१ अर्ब डलरको ऋण सम्झौता रद्द गरेको थियो । त्यसपछि एसियाली विकास बैंक, र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) ले समेत हात झिकेको थियो । त्यसपछि बांग्लादेश सरकारकै बजेटमा उक्त परियोजना निर्माण भएको हो ।

सबैले हात झिकेपछि प्रधानमन्त्री शेख हसिनाले सरकारले नै उक्त पुल बनाउने घोषणा गरेकी थिइन् । सुरुमा मुलुकका अर्थशास्त्रीसमेतले दाताको सहयोगबिना यति ठूलो परियोजना बनाउन नसकिने भन्दै शंकाको दृष्टिले हेरे । केही मान्छेले हामी सधैं अरुमै निर्भर हुन्छौँ भने, तर हाम्रा राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानले हामीलाई स्वाभिमानको महत्त्व सिकाउनु भएको छ, शनिबार पुलको उद्घाटन समारोहमा उपस्थित भएका नागरिकलाई सम्बोधन गर्नै हसिनाले भनिन् ।

सबै नागरिकको साथ पाएकाले आफूले असम्भवलाई सम्भव बनाएको समेत उनको भनाइ थियो । तपाईंहरू मेरो साथमा हुनुहुन्छ, त्यसैले असम्भवलाई सम्भव बनाउने साहस ममा छ, उनले भनिन् । विभिन्न षड्यन्त्रका कारण पुल निर्माणमा ढिलाइ भएको पनि उनले बताइन् । शेख मुजिबर रहमानको भनाइ उद्धृत गर्दै उनले भने, कसैले पनि बांग्लादेशलाई दबाउन सक्दैन । अन्तिममा हामीले जित्यौँ ।

यस निर्माणलाई इन्जिनियरिङ चमत्कारसमेत भनिएको छ । विज्ञहरूका अनुसार पद्मा नदी अमेजनपछिको खतरनाक र अनिश्चित मानिन्छ । त्यसैले पनि यो नदीमा निर्माण कार्य गर्न जोखिम रहेको उनि बताउछन् । चिनियाँ सरकारको मातहतमा रहेको रेल्वे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप (आरएमबीईजी) ले करिब १२०० बांग्लादेशी इन्जिनियरहरूको सहयोगमा पुल निर्माण कार्यको नेतृत्व गरेको हो ।

आयोजनाका निर्देशक शफिकुल इस्लामका अनुसार पुल ९ म्याग्निच्युडसम्मको भूकम्पलाई थेग्नसक्ने गरी बनाइएको छ । उनका अनुसार पुल निर्माणमा आधुनिक फ्रिक्सन पेन्डुलम बियरिङ्सु प्रविधि अपनाइएको छ । उनका अनुसार प्रारम्भिक अनुमान (१.२ बिलियन अमेरिकी डलर) भन्दा पुल निर्माणको लागत तेब्बरले बढेको समेत छ ।

पुलले मुलुकको कुल ग्राहस्थ उत्पादनसमेत १.२३ प्रतिशतले बढ्ने बताइएको छ । पुल निर्माणपछि पर्ने आर्थिक प्रभावबारे अध्ययन गरेका अर्थशास्त्री सलिम राइहानका अनुसार यो एउटा आर्थिक करिडोरका रूपमा रहने बताउँछन् । बांग्लादेशको प्रमुख उद्योग रेडिमेड गार्मेन्ट पूर्ण रूपमा दक्षिण पश्चिम क्षेत्रबाट अलग थिए । मलाई विश्वास छ अब लगानीकर्ता र उद्योगीहरू यस क्षेत्रमा लगानी गर्न तम्सिनेछन् जसले ठूलो आर्थिक वृद्धि हुनेछ, अलजजिरासँगको कुराकानीमा उनले भनेका छन् ।