Close This

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

शुक्रबार भदौ २४, २०७९/ Friday 09-09-22
रासस

देउखुरी, २४ भदौ । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन । 

सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए । “शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ”, उनले भने । 

म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र  खोजी भइरहेको  प्रनाउ गौतमले बताए । विश्वकर्मालाई यही यही भदौ २२ मा  प्रहरीले पक्राउ गरेको थियो ।