Close This

नायग्रा फल्समा भिज्न लालायित मान्छेहरु

मंगलबार असोज ११, २०७९/ Tuesday 09-27-22
Paschim Today

दीर्घराज उपाध्याय ।
यात्रा संस्मरण ।
नायग्रा फल्समा भिज्न लालायित मान्छेहरुको भीड देख्दा लाग्थ्यो, मान्छेहरु किन यति धेरै लालायित हुन्छन, त्यहाँ पुग्न ।
नायग्रा फल्समा भिज्नुको बेग्लै हुदो रहेछ, त्यो अनुभूति नायग्रा फल्समा भिज्दा मात्र प्राप्त हुने रहेछ । संसारकै ठूलो झरना, जहाँ पुग्न र भिज्न मान्छेहरु किन यतिधेरै उत्साही हुन्छन् ? आफू त्यहाँ पुगेपछि त्यसको अनुभूति भयो ।

मान्छेहरु पानी परेपछि भिजिने डरले ओत लाग्ने ठाँउको खोजी गर्छन । तर नायग्रा फल्समा भने भिज्नकै लागि टिकट काट्छन । क्रुज चढ्छन । र, झरनाको पानी खस्ने ठाँउनजिकै पुगेर त्यसका बाछिटाहरुसंग रमाउछन् । र, उन्मुक्त भएर भिज्छन् ।

पानीबाट जोगिन प्लाष्टिकको बर्साती लगाएका मान्छेहरुलाई क्रुजमा नायग्रा फल्सको मुन्तिर पुग्दा यस्तो लाग्छ, किन लगाईरहनु यो वर्षाती ? फेरि कहाँ मिल्छ, नायग्रा फल्समा भिज्न ? त्यसैले मान्छेहरु त्यो वर्षातीबाट बाहिर निस्किन्छन, र भिज्छन् उन्मुक्त भएर । न मोवाईल भिज्ने चिन्ता । न कपडाको चिन्ता ? एउटा अवस्था यस्तो आउदो रहेछ, जतिबेला मान्छेहरु सबै चिन्ता र भयबाट मुक्त हुन्छन । नायग्रा फल्सको मुन्तिर पुग्दा यस्तै अनुभूति भयो ।

तस्विरमा देखेको नायग्रा फल्सलाई अनेकौ कौतुहलता र जिज्ञासा थिए, म भित्र ? कस्तो होला नायग्रा फल्स ? कसरी खस्छ होला त्यहाँ पानी ? त्यो कृत्रिम होला कि प्राकृतिक ? 

अमेरिकामा बग्ने नायग्रा नदी न्यूयोर्क र क्यानडाको ओन्टारियो राज्यको सीमानामा १६७ फिट उचाईबाट खस्छ । त्यही स्थान नै नायग्रा फल्स हो । नायग्रा नदी यसरी त्यहाँ तीन ठाउँबाट खस्छ । र, दुई देशको सीमानामा फेरि नदी भएर बग्छ ।

संसारभरीबाट दुई करोड भन्दा बढि पर्यटकहरु नायग्रा फल्स अवलोकन गर्ने गरेको तथ्यांक छ । अमेरिका र क्यानडा दुबै देश भएर नायग्रा फल्सको अवलोकन गर्न सकिन्छ । दुबै देशतिर नायग्रा फल्सको मुन्तिरसम्म पर्यटकहरुलाई क्रुज मार्फत लैजाने व्यवस्था छ । फरक यति छ, अमेरिकाबाट त्यहाँ जानेहरु निलो बर्सातीमा हुन्छन । क्यानडाबाट जानेहरु रातो वर्सातीमा हुन्छन । उनीहरु कुन देशको बाटो भएर नायग्रा फल्स अवलोकन गर्न आएका हुन्, त्यही निलो र रातो बर्साती हेरेर छुट्याउन सकिन्छ । दुबै देशतिर हेलिकोप्टरबाट पनि नायग्रा फल्स अवलोकन गर्ने सुबिधा छ । हिउँदमा भने नायग्रा फल्स जमेर ठप्प हुन्छ ।

अमेरिका र क्यानडा पुग्ने विदेशी पर्यटकहरु नायग्रा फल्स अवलोकन गर्न छुटाउदैनन । न्यूयोर्क पुगेर नायग्रा फल्स पुगेन भने त अमेरिकाको भ्रमण नै अधुरो जस्तो हुने रहेछ, मैले त्यो अवसर गुमाउन चाहेन । र त साथीहरुसंगै न्यूयोर्कबाट झण्डै साढे चार घण्टा गाडीको यात्रा तय गरेर पनि नायग्रा फल्स अवलोकन गरे । प्रिय साथीहरु नविन ओझा, राम बहादुर देउवा, गणेश बिष्ट र राईभान महरासंग गाडीको यात्रा र त्यसमाथि नायग्रा फल्सको रोमाञ्चकारी भ्रमण अवस्मरणीय त हुने नै भयो ।