Close This

राजकाँडा धुलिकोट ट्रायल बारे जिज्ञाशा र जानकारी

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23
Paschim Today
भोजराज भाट ।

कति हिड्नुपर्छ ? बीच बाटोमा चियानास्ताको सुविधा छ ?

कर्णाली चिसापानीको सिद्धबाबा होटेल नजिकै उत्तरतिर एउटा पक्की ट्रायल बाटो बनेको छ, यद्यपि यो पुरै पक्की भने छैन । केही परबाट ढुंगाको राम्रो ट्रायल बाटो छ । यसैलाई सिधा पछ्यायो भने करिब ३ घण्टा सहजै राजकाँडा बास बस्ने गन्तब्यमा पुग्न सकिन्छ । यो बीचमा पुरै जंगल छ । बाटोमा पानीको केही सुविधा छैन । त्यसैले सामान्य नास्ताको लागि फलफूल वा केही खानेकुरा र पानी आफैं बोक्नुपर्छ ।

के राजकाँडामा खाना बस्नको लागि होटेलको व्यवस्था छ ?

राजकाँडा धुलिकोट होम स्टे छ । बास बस्नको लागि छुट्टाछुट्टै कोठाहरु छन् । परिवारसहित जाँदा पनि राम्रो हुन्छ । शहरीया कोलाहलको वातावरणबाट वाक्कदिक्क भएकाहरुले यहाँ पुरै आगोबाट बनाइएका परिकारको स्वादसहित भोजनको आनन्द लिन सक्नुहुन्छ ।

राजकाँडामा खानको लागि खास परिकार के के हुन् ?

यदि तपाई मांसाहारी हो भने राजकाँडा त तपाईका लागि स्वर्ग भइहाल्यो । आफूले रोजेको लोकल भाले वा कालिजको मासु अर्डर गर्न सक्नुहुनेछ । तपाई भेज हुनुहुन्छ भने पनि केही चिन्ता छैन यहाँ । दही मही, खीर वा लोकल मह र स्थानीय मकैको रोटी, कोदोको रोटी आदि परिकारसहित लोकल अमलाको अचार, मुला गाजरको सलादसहित मिष्ठान्न भोजन लिन सक्नुहुन्छ । बोत्तलको पानी पनि सहजै पाउन सकिन्छ । अरु त्यस्तो चिन्ता गर्नुपर्ने खास केही छैन । तर, चिसापानीबाट उक्लिनुअघि होटल साहुजीलाई अग्रिम फोन गरी अर्डर दिदा ज्यादै राम्रो हुन्छः ९८४८९९२५६०, ९८६८५४९०४८

कहाँ कहाँ घुम्ने ?

धुलीकोट राजकाँडा पुग्नु भयो भने घुम्नै पर्ने ठाउँहरु टुंडीखेल, दरबार क्षेत्र, मालिका मन्दिर, हात्ति ढुंगो, भैरवथान, शिव मन्दिर, खजाने ओडार, हात्तिसार, हात्तिढुंगा, निशाने ढुंगा, जुतेशेली गाऊँ आदि पर्छन् । यसको लागि एक जना स्थानीयलाई साथमा लैजाँदा राम्रो हुन्छ । मालिकाबाट बडिमालिकाको चुचुरो प्रष्टसँग देख्न सकिन्छ । र, मालिकाबाट सत्तीस्थित पद्य्मप्रकाशेश्वर मन्दिर पनि देख्न सकिन्छ । तराईसँग जोडिएको यो चुरेको चुचुरोबाट अपि हिमाल रेञ्ज र साइपाल हिमाल रेञ्ज प्रष्ट देखिन्छ । अझ साइपाल रेञ्जका तीन चुली सुनपानी (6526), फिरानखोफ (6745) र साइपाल (7031) यहाँबाट प्रष्ट देख्न पाइन्छ । यो सबैको लागि दुई दिन समय लाग्छ ।

के गाडी वा मोटरसाइकलमा पनि जान सकिन्छ राजकाँडा ?

सकिन्छ, लम्की आमपानी हुँदै जुतेशली गाऊँ भएर राजकाँडा धुलिकोटसम्म कच्ची मोटरबाटो छ । मोटरसाइकलमा पनि सजिलै जान सकिन्छ । तर, गाडीमा जाँदा राजकाँडा, धुलीकोटको रियल आनन्द लिन सकिदैन । त्यसैले चिसापानीबाट हिडेरै जानुस्, कम्तिमा दुई दिन मोटरको धुवाँधुलो टाढै रहनुस् ।