डोटीमा अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान

सोमबार जेठ २२, २०८०/ Monday 06-05-23
Paschim Today

डोटी, २२ जेठ । डोटीको केआइसिंह गाउपालिका–५ ले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ। गाँउपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आइतवार अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो।
अध्ययनको शिलशिलामा माया प्रेम बसेर विवाह गरेका जोडिलाई गाउँपालिकाले सम्मान गरेको छ। तर अन्तरजातीय विवाह गरेका जोडिले भने जातीय विभेदको अझै पनि सामना गर्नुपरिरहेको अनुभव सुनाएका छन्। अन्तरजातीय विवाह गरेकी पार्वती साउँदले हामीले प्रेम सम्बन्धलाई पुर्णता दिन विवाह गरेको भए पनि धेरै यातना खेप्नु परेको गुनासो पोखिन्। ‘म एक सक्षम शिक्षित व्यक्तिमाथि त यस्तो व्यवहार हुन्छ भने अन्य साधारण जोडिले अन्तरजातीय विवाह थेग्न सक्ने अवस्था छैन्।’

वडाले सम्मान गरेपछि आफुहरुले उठाएको कदम सहि र परिवर्तनको पक्षमा भएको अनुभव भएको उनले बताइन्। केआईसिह गाँउपालिका–५ का अध्यक्ष दुुर्गा रावलले जातीय विभेदकै कारण दलित र गैरदलितबिचको खाडललाई मेटाउन अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरिएको बताए। ‘सरकार आम नागरिकको अभिभावक भएकाले गाँउ समाजमा रहेका यस प्रकारका विभेदको अन्त्य गर्न गाउँपालिका कटिबद्ध छ।’ डोटीमा जातीय भेदभावको विरुद्धमा आवाज उठाउदै आएका यज्ञ पार्कीले केआइसिंह गाउँपालिका–५ ले यस वडामा अन्तरजातीय विवाह गर्ने जोडिलाइ र अन्य उत्कृष्ट दलित समुदायका युवाहरूलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे।