देश,झण्डा,कानुन र अमेरिका

शनिबार असार २, २०८०/ Saturday 06-17-23
Paschim Today

दीर्घराज उपाध्याय ।

विदेशबाट फर्किएपछि केही दिन त्यसको प्रभाव रहिरहन्छ । पालो पर्खने धैर्यता । देशप्रतिको अगाध आस्था । झण्डाप्रति गर्व र गौरव । कानुनप्रतिको प्रतिबद्धता ।

एक दशकयता संसारका थुप्रै बिकसित र अनुशासित देश घुम्ने अवसर प्राप्त भयो । एसियाका अत्यन्त विकसित चीन, मलेसिया, ईन्डोनेशियासंगै युरोपका अति बिकसित मुलुकहरु पनि यो अबधिमा भ्रमण गर्ने मौका पाए । अत्यन्त गरीव मुलुक दक्षिण सुडान र कुनै बेलाको सबैभन्दा गरीव ईथोपिया पनि टेक्ने अवसर प्राप्त गरे । पछिल्लो वर्ष दुई पटक अमेरिकाको भ्रमण गर्ने अवसर प्राप्त भयो । जुन मेरो जीवनकै सुखद उपलब्धी हो ।

यो लेखमा अमेरिका, दक्षिण सुडान र नेपालका विषयमा चर्चा गर्नेछु । म जहाँ जान्छु, त्यहाँका हरेक पाटोहरुलाई नजिकबाट नियाल्छु । त्यहाँको कला,संस्कृति, खानपिन, शिक्षा, स्वास्थ्य, विकासका आयामहरुका बारेमा अध्ययन तथा बुझ्ने कोसिस गर्छु । र, बिकसित मुलुक जादा मेरो देश यस्तो कहिल्यै होला ? भन्ने प्रश्न मनमा सधै उठ्ने गर्छ । र, त्योसंगै अर्को प्रश्न पनि उठछ्, मेरो देश किन बन्न सकेन ? अमेरिकाको दुई पटक भ्रमण गर्दा यही प्रश्न मेरो मनमा बारम्बार उठ्यो । अमेरिका किन बन्यो ? मेरो देश किन बनेन ? अमेरिका छ पनि गजव । संसारमा नभएको विकास यहाँ छ । सबै सुख सुबिधा यहाँ छन् ।

अमेरिका सपनाको देश । सबै अमेरिका जान चाहन्छन । अमेरिका छ, पनि त्यस्तै । अमेरिकाको विकास मात्र होईन, यहाँको लोकतन्त्र, अभिव्यक्ति तथा बैयक्तिक स्वतन्त्रता, सम्पत्तीमाथिको अधिकारले पनि लोभ्याउछ धेरैलाई । गरीव र विकासोन्मुख देशका नागरिक त्यहाँ जान लालायित हुनु अस्वाभाविक होईन, किनकी संसारका सबै सुख,सुबिधा त्यहाँ जो छन् ।  चीन र रुसका नागरिकको संख्या पनि अमेरिकामा चुलिदो छ । मान्छेले जति पैसा कमाए पनि चाहिने त स्वतन्त्रता हो । त्यसको निर्बाध उपयोग गर्न पाएन भने त्यो पूँजीको के महत्व ? गरीव मुलुकका नेताहरु पूँजीवादको बिरोध गरेर कहिल्यै थाक्दैनन । अझ दलाल पूँजीवाद, बुर्जुवा पूँजीवाद, सामन्ती पूँजीवाद । यस्ता तमामा बिशेषण र उपमाहरु दिएर जनतालाई दिग्भ्रमित पारिरहन्छन । तर, त्यही पूँजीवादले अमेरिका विश्वको महाशक्ति बनेको कुरा भने उनीहरु कहि कतै उच्चारण गर्दैनन ।

पहिलो पटक अमेरिकी सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा ईन्टरनेशनल भिजिटर्स लिडरसीप प्रोग्राम (आईभिएलपी) अन्तर्गत सन २०२२ अगष्टमा एक महिनाको भ्रमण गर्ने अवसर पाएको थिए । आईभिएलपी अमेरिकी सरकारको कार्यक्रम भएकोले त्यो अबधिमा नजिकबाट अमेरिकी लोकतन्त्र, यहाँको संस्कृति, बिबिधतामा हुर्किएको अमेरिकी समाज बुझ्ने मौका पाए । विश्व बैंकले कसरी काम गर्छ ? उसको प्राथमिकता र नेपाल प्रतिको बुझाई र सहयोग कार्यक्रमका बारेमा मन भित्र रहेका जिज्ञासाहरु, उसकै मुख्यालयमा राख्ने मौका पाएको थिए ।

एमसीसी के हो ? के होईन ? कसरी काम गर्छ ? नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजना के हो ? कुन क्षेत्रसंग यो सम्बन्धित छ ? के बिबादित बनाईए जस्तै हो त एमसीसी ? यस्ता तमाम प्रश्नहरु तेस्र्याएको थिए, एमसीसीका अधिकारीहरुसंग ।

अमेरिकाको निर्बाचन प्रणाली, शिक्षा र स्वास्थ्यको मोडेल, ठूला सञ्चारगृहको कोभिड पछिको अवस्था र उनीहरुले अंगिकार गरेको पत्रकारिताको मोडेलका बारेमा पनि बुझ्ने अवसर त्यो अबधिमा मिलेको थियो ।

अमेरिका संसारकै महाशक्ति बन्नुका पछाडि थुपै्र कारण छन् । होलान । तीन वटा कुरा भने छुटाउन मिल्दैन जस्तो लाग्छ । ती हुन्– देशप्रतिको अगाध आस्था । झण्डाको सम्मान । कानुनप्रतिको प्रतिबद्धता ।

अमेरिकी नागरिकहरुका लागि देशभन्दा माथि केही छैन । उनीहरुका लागि देश सर्बोपरी हो । उनीहरु देशका लागि बलिदान हुन चाहन्छन् । हरेक अमेरिकन बालबालिकाको पहिलो सपना सेनामा भर्ना हुने हुन्छ । हरेक नागरिक देशका लागि त्याग गर्न चाहन्छ । उ कुन युद्धमा मारियो, भियतनाम वा अफगानिस्तान ? त्यो महत्वपूर्ण होईन । उसको परिवारजन भने देशको लागि बलिदानी गरेकोमा गर्व गर्छन । सेनापछि मात्र उनीहरुको प्राथमिकतामा डाक्टर, ईञ्जिनियर वा अन्य पेशा पर्छ । जसको लागि राष्ट्र सबै थोक हुन्छ । उनीहरुले सबैथोक खोज्न कहि जानु पर्दैन ।

उनीहरु झण्डालाई लिएर गर्व र गौरव गर्छन । झण्डाका अगाडि झुक्छन । अगाध सम्मान गर्छन । झण्डा उनीहरुको शान हो । मान हो । सबैथोक हो । त्यसैले हरेक अमेरिकनले घरको अगाडि दुई वटा झण्डा राखेका हुन्छन् । एउटा देशको । अर्को राज्यको ।

कानुन प्रतिको प्रतिबद्धता र त्यसको पालना संसारभरीका नागरिकले अमेरिकाबाट सिक्नु पर्ने पाठ हो । रेड लाईट छलेर कोही सडक पार गर्दैन । र, गति नाघेर कोही गाडी चलाउदैन । बृद्ध हुन वा बालक सबैले पालो कुर्छन, पसल होस वा रेलमा ।

उनीहरु अरुलाई कुनै पनि कुरामा बाधा,अबरोध गर्दैनन । आफ्ना कारण अरुलाई असर प¥यो भने तत्काल ‘सरी’ भन्छन् । माफी माग्छन । र, अरुका कारण आफूलाई सहज भयो भने धन्यवाद भन्न बिर्सिदैनन ।

बर्ण, कर्म, जात वा श्रमका आधारमा उनीहरु कसैलाई भेदभाव गर्दैनन । श्रमको सम्मान गर्छन । कामका आधारमा कोही सानो वा ठूलो हुदैन । र, कामका आधारमा व्यबहार गर्दैनन । र, आफ्नो अधिकार उपभोग गर्दा अर्काको अधिकार हनन नहोस भन्नेमा उनीहरु सधै सचेत हुन्छन । उनीहरुको अधिकारको परिभाषा भन्छ, तपाईलाई हात हल्लाउने अधिकार छ, तर तपाईको हातले कसैको नाक छुने अधिकार छैन ।

अनमिस मिसनको डेलिगेटका रुपमा संसारको सबैभन्दा गरीव मानिने दक्षिण सुडानमा ६ वर्षअघि जाने अवसर जुरेको थियो । ६० भन्दा बढि फिरन्ते जाती भएको दक्षिण सुडान तिनै जातीहरुबीचको द्धन्दले छियाछिया भएको छ । दक्षिण सुडानमा कतिपय जातीका महिलाहरु शरीरको माथिल्लो भागमा लुगा नै लगाउदैनन । आदिम चेतना बोकेको दक्षिण सुडान यही पृथ्वीमा छ । शरीर ढाक्नुपर्छ । जहाँ लुगा लगाउनु पर्छ भन्ने चेतनाको विकास भईसकेको छैन ।

गत वर्ष क्यासिनोको शहर लस भेगास भ्रमण गर्ने अवसर प्राप्त भयो । त्यहाँको दृष्य अनौठो थियो । खुला सडकमा महिलाहरु निर्वस्त्र सजिएका थिए । उनीहरुको शरीरमा लुगाको त्यान्दोसम्म थिएन । शरीरमा पेन्टिङ गरेका निर्वस्त्र महिलाहरु पखेटामा सजिएका चरा जस्तै लाग्छन । जो संग सेल्फी खिच्न पर्यटकहरु हरदम झुम्मिरहेका हुन्छन् ।

एउटा दक्षिण सुडान छ । जहाँ महिलाहरुलाई लुगा लगाउनु पर्छ भन्ने चेतना छैन । अर्को लस भेगास छ, जहाँ महिलाहरुमा यति धेरै चेतनाको विकास भईसकेको छ, लुगा लगाउन जरुरी नै ठान्दैनन । तिमीले लुगा किन नलगाएको भनेर सोध्ने अधिकार कसैलाई छैन । मेरो शरीर । मेरो अधिकार । म लुगा लगाउ, वा नलगाउ, त्यो मेरो अधिकार हो । मेरो स्वतन्त्रता र अधिकारमाथि हस्तक्षेप गर्ने तिमी को हौ ? उनले उल्टै प्रश्न गर्छन ।

अमेरिकामा साथीहरु भन्छन्, अमेरिकामा आएर यहाँको केही चिजको तुलना नेपालसंग वा बाँकी विश्वसंग नगर्नु । त्यसले मन अमिलो हुन्छ । बिरक्त लाग्छ ।

अमेरिकीहरु संकटमा साथ दिएकोमा सरकारलाई धन्यवाद दिन्छन् । कोभिडमा रोजगारी, व्यापार र आम्दानी सबै गुमाउदा पनि अमेरिकीहरु हतास भएनन । संकटमा उनीहरुको साथमा सरकार थियो । हो पनि संकटका बेला हरेक नागरिकले सरकार खोज्छ । राज्यबाट उसले सुरक्षा खोज्छ । भरोसा खोज्छ । सहयोग खोज्छ । अमेरिकामा त हरेक बेला नागरिकको साथमा सरकार छ । कर तिर्नेको सम्मान छ । कर तिर्ने व्यापारीहरु प्रताडित हुनु पर्दैन ।

नेपालमा कोभिडमा थला परेको अर्थतन्त्र उकासिने नाम छैन । बरु महंगी र व्याज आकाशिएको छ । सर्वसाधारणलाई एक छाक कसरी टार्ने चिन्ता छ । बैंकले ऋणको व्याज अचाक्ली बृद्धि गरेको छ । व्यवसायी र सर्वसाधारण व्याजको बोझले थिचिएर उठ्न नसक्ने अवस्थामा छन् । बैंकमाथि न सरकारको नियन्त्रण छ । न त बैंकहरु ऋणीप्रति उत्तरदायी छन् । वर्षौदेखि नियमित रुपमा किस्ता तिर्दै आएको व्यवसायीले किन किस्ता तिर्न सकेन ? नियत खराव हो कि नियती ? उसले त्यो बुझ्दैन । बैंक त, बस्, किस्ता तिर्न ताकेता गरिरहन्छ । आत्महत्या गर्न नसकेर बाँचेका अनुहारप्रति सरकारको न दया छ, न करुणा र सहानुभूति । कर तिर्ने व्यवसायीमाथि सधै कर कार्यालय र सरकारको गिद्धे दृष्टि छ । व्यवसायी कहाँ चुक्ला र ? झम्टिउला । बैंकको किस्ता तिर्न नसकेको व्यवसायी करको गौंडाबाट उम्किन नसकेर हायल कायल छ ।

उता अमेरिकामा कोभिडले धराशायी भएको व्यवसायीलाई सरकारले सम्पूर्ण रुपमा सहयोग ग¥यो । कोभिडमा रोजगारीबाट बञ्चित हरेक नागरिकको खातामा सरकारले पुग्ने गरी पैसा जम्मा गरिदियो । कतिपय राज्यले त कर बढि उठेको भन्दै नागरिकलाई केही प्रतिशत रकम कर नै फिर्ता पनि ग¥यो । सरकार यहाँ कर तिर्नेको सम्मान पनि गर्छ । र, सुरक्षा पनि ।

नेपालमा भने कर बढि तिरे पनि व्यवसायीले झमेला व्यहोर्नुपर्छ ? कम कर तिरे झनै सास्ती खेप्नु पर्छ । बढि कर तिरे, कहाँबाट कमायो ? के मा कमायो ? कसरी कमायो ? कम कर तिरे, किन कम कर ति¥यो ?

देशको विकासका लागि सरकार जति नागरिक प्रति जवाफदेही र जिम्मेवार हुन आवश्यक छ । त्यत्तिकै आवश्यक छ, हरेक नागरिकले आफ्नो कर्तव्य पालना गर्न । नागरिकलाई सुरक्षा र सहारा दिनु राज्यको दायित्व हो । देशप्रति आस्था, झण्डाप्रति गौरव र कानुन प्रति प्रतिबद्ध हुनु नागरिकको कर्तव्य हो । तव पो देश बन्छ । तव पो अमेरिका, अमेरिका बन्यो ।