लैंगिक समानता कायम गर्न सरकार  गम्भीर रहेको मन्त्री सुडीको प्रतिवद्धता

सोमबार मङ्सिर १०, २०८१/ Monday 11-25-24
Paschim Today

काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैंगिक समानता कायम गर्ने सन्दर्भमा वर्तमान सरकार गम्भीर रहेको बताएका  छन्। सोमबार काठमाडौंको भृकुटिमण्डपबाट ३३ औं अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै मन्त्री सुडीले विभिन्न नीतिगत, कानुनी एवं संरचनात्मक सुधार गर्दै लैंगिक समानता कायम गर्न सरकार गम्भीर रहेको बताएका हुन्।
उनले विभिन्न रुपमा हुने लैंगिक हिंसाको नियन्त्रण,हिंसामा परेका पीडित र प्रभावितहरूका लागि उचित क्षतिपूर्ति र पीडकलाई दण्डका साथै कानुनी कारवाहीको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।

मन्त्री सुडीले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा दिर्घकालीन तथा अल्पकालीन पुनस्र्थापना केन्द्रहरू सञ्चालन गरिएको,एकल महिला हक अधिकारको संरक्षण कार्यक्रमलाई अघि बढाइएको जानकारी दिए। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा विभिन्न संघसंस्थाहरूले संयुक्तरुपमा भृकुटिमण्डपबाट र्याली निकालेका थिए ।"हामी सबैको प्रतिबद्धताः" लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने नाराका सोमबारबाट सुरु भएको अभियान मंसिर २५ गते समापन हुने बताइएको छ ।