नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ३४ करोडको सेयर किनबेच
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् आइतबार ७ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ३८ करोड रूपैयाँ कमी आएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेच भएको हो।
सोमबार १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ वटाको घटेको छ। यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन बेस्ट फाइनान्स र सुपर मोदी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९१ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ८९८ रूपैयाँ र एक हजार नौ रूपैयाँ कायम भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३६१ रूपैयाँ पुगेको छ।
यस्तै, ङादी ग्रुप पावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९४ रूपैयाँ १० पैसा कायम भएको छ।
दोस्रोमा १०.२५% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ को मूल्य ५.३१ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार ७० रूपैयाँमा झरेको छ।
सोमबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ४९४ रूपैयाँ १० पैसामा ५४ करोड ७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बेस्ट फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८९८ रूपैयाँमा २५ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशतले बढेको छ।
तपाईको प्रतिक्रिया