राजनले भिडियो कलमा इजरायलको गाजा क्षेत्र देखाउदै हमला हुदा बंकरमा बस्न सिकाइएको बताएका थिए
धनगढी , २२ असोज । डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराले केही दिन पहिले जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग भिडियो कलमा मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’
नभन्दै राजनको हमासले ज्यान लियो । उनले काका संग नेपालमा आएर लोकसेवा लड्ने योजना पनि सुनाएका थिए । उनको लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ ।
राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’ छोरा गुमेको खबरले बुबा घनश्याम विक्षिप्त बनेर बेहोस अवस्थामा छन् । घनश्याम ऋण सापट गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए ।
तपाईको प्रतिक्रिया