झण्डै साढे ५ हजार फिटमाथि ‘काला पत्थर’ मा नाचेर सुरेन्द्र-सुसनले रचे विश्व कीर्तिमान

आइतबार असार ९, २०८१/ Sunday 06-23-24
Paschim Today

काठ्माडौं । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् ।

सुसन र सुरेन्द्रले १९ मे, २०२४ जेठ ६ मा सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन् । यति ठूलो हाइटमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने महत्वाकांक्षी प्रयास गरेका हुन् ।

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल थियो, ‘मन मगन’ जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरू पनि उनीहरूसँगै काला पत्थर पुगेका थिए । उनीहरूलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।

उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गरेको छ । भने रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो ।

रेकर्ड राख्न सफल भएपछि खुसी हुँदै सुरेन्द्र र सुसनले भने, ‘हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ ।’

खराब मौसमको बाबजुद पनि यो जोडीले आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको हो । यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए । सानुले आठ हजार मिटरको चौधवटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा यो कीर्तिमानी प्रयास गरेका हुन् भने गिनिजका तर्फबाट नेपालका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा यो कार्यक्रम सम्पन्न भएको हो ।