निर्मला हत्याको ६ वर्षमा दुई जना शङ्कास्पदको नजिक पुग्यो प्रहरी, जो विदेशमा छन् अहिले

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको अनुसन्धान निष्कर्ष छ । 

२०८१ असार ३० मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताएका छन् । कञ्चनपुर घर भएका तर, विदेशमा बस्ने दुई जनालाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।

निर्मला हत्या अनुसन्धानमा लामो सयमदेखि काम गरिरहेका एक जना अधिकृतले  भने, ‘दुई जना शङ्कास्पदको नजिक पुगेका छौँ, पहिचान भए पनि उनीहरू अहिले विदेशमा छन् ।’

शंकास्पदहरूलाई ल्याएर डीएनए जाँच गर्ने प्रहरीको तयारी छ । ६ वर्षमा प्रहरीले हालसम्म १२३ जनाको डीएनए जाँच गरेको छ । कञ्चनपुरका एसपी चक्रराज जोशी भन्छन्, ‘अध्ययन, अनुसन्धान र विश्लेषणको काम भइरहेको छ ।’

पछिल्लो ४ महिनामा प्रहरीले एक जना शङ्कास्पदलाई पक्राउ गरेर घटना विवरण कागज गराएको छ । कञ्चनपुर प्रहरी र सीआईबीले घटनाबारे अनुसन्धान गरिरहेका छन् । लामो समय कञ्चनपुरमा बस्दा नतिजा नआएपछि सीआईबीको टोलीले अहिले काठमाडौँबाटै अनुसन्धान गरिरहेको छ । सीआईबीका इन्स्पेक्टर दुर्गा योन्जनले कञ्चनपुरमा बसेर लामो समय काम गरेका थिए ।

कञ्चनपुर प्रहरीलाई आवश्यक पर्ने प्राविधिक सपोर्ट र थप अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्याम ज्ञवालीले बताए । उनले भने, ‘हामी जिल्ला प्रहरीलाई आवश्यक सहयोग गरिरहेका छौँ ।’

६ समिति

निर्मला पन्तको हत्याबारे ६ वटा समितिले छानबिन र अनुसन्धान गरेका छन् । डीआईजी दुर्गा सिंहको नेतृत्वमा बनेको समिति छैटौँ हो ।

२०७५ भदौ ६ मा सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बन्यो ।

२०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो । ०७६ भदौ २६ मा डीएनए विज्ञ जीवनप्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो ।

२०७६ माघ ११ मा तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले पनि प्रतिवेदन दिएको थियो । निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जनाले अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।

आरोपित पहिचान गर्न डीएनए मिल्नुको विकल्प नदेखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अनुसन्धान अधिकृतहरूले पछिल्लो समय ‘मास डीएनए’को कन्सेप्ट छाडेर नजिकको घेराका मान्छेहरूका नमुना लिएर परीक्षण गर्ने विधि अपनाए ।

परिस्थितिजन्य प्रमाण अनुसार वैज्ञानिक परीक्षणका लागि लिएका स्याम्पल निर्मलाको  ‘भजाइनल स्वाब’ सँग मिल्नुपर्छ । ‘भजाइनल स्वाब’बाट विधि विज्ञान प्रयोगशालाले १६ वटा क्यारेक्टर डेभलप गरेको छ । ‘वाइ एसटीआर’ विधिबाट गरिएको सो परीक्षणबाट पुरुष वंश पत्ता लाग्छ ।

निर्मला पन्तको घटना छानबिन गर्न डीएनए विज्ञ जीवन रिजालको नेतृत्वमा यसअघि गठन भएको समितिले ‘अटोजोमल’ विधिबाट परीक्षण गर्नुपर्ने भन्दै अनुसन्धानमा ह्युमन इन्टेलिजेन्सलाई जोड दिन सुझाएको थियो । रिजालका अनुसार ‘अटोजोमल’ विधिबाट परीक्षण गर्दा ‘पिन प्वाइन्ट’ पत्ता लाग्छ । अर्थात्, सम्बन्धित आरोपित नै पत्ता लाग्छन् ।

रिजाल नेतृत्वको समितिले ‘वाई  एसटीआर’मा पुरुषको डीएनए भेटिएको कुरा स्वीकार्दै आफ्नो प्रतिवदेनमा लेखेको छ, ‘पुरुषको डीएनए भेटिनुको मतलब मेल कन्ट्रिब्युटर छ भन्ने हो ।’

रिजाल नेतृत्वको समितिले भजाइनल स्वाब सङ्कलनमै समस्या देखिएको निष्कर्ष निकाल्दै डीएनए परीक्षण विधिबाट भन्दा ह्युमन इन्टेलिजेन्स प्रयोग गरेर अनुसन्धान गर्न सुझाएको थियो । तर, निर्मला प्रकरणमा ८ जना प्रहरीले कारबाही भोगेको हुनाले अनुसन्धान अधिकृतहरू अर्को विधिमा जान हच्किने गरेका छन् ।

अटोजोमल विधिबाट परीक्षण नगर्नुको कारणबारे केन्द्रीय विधि विज्ञान प्रयोगशाला प्रमुख डा. राकेश सिंहले ‘अनुपात कम भएको हुनाले अटोजोमल एसटीआर गर्न नसकेको’ बताउने गरेका छन् ।

‘वाइ एसटीआर’ विधिबाट डेभलप गरिएको १६ वटा क्यारेक्टरसँग नमुना मिलेपछि आरोपितको वंश पत्ता लाग्ने र त्यसपछि अनुसन्धान साँघुरिने प्रहरी अधिकारीहरू बताउँछन् ।