मन्त्रालय फोडेर पनि सत्ता नजोगिएपछि मुख्यमन्त्री सोडारीले फेरि जोडेर दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

कैलाली । सत्ता जोगाउनकै लागि सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अन्ततः सत्ता नजोगिने भएपछि एक महिनामै मन्त्रालयको संख्या पुरानै कायम गरेका छन् ।

वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । ७ मन्त्रालयमा १० मन्त्री भएपछि मुख्यमन्त्री सोडारीले असार १६ गते प्रदेशका मन्त्रालयहरू विभाजन गरेर उनीहरुको जिम्मेवारी तोके ।

मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर बिना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरेर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको थियो । जसअन्तर्गत जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी अक्कलबहादुर रावललाई दिइएको थियो ।

सामाजिक विकास मन्त्रालय विभाजन गरेर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको थियो । शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लक्ष्मी विकलाई दिइएको थियो । स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी ओमविक्रम भाटलाई तोकिएको थियो ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयलाई विभाजन गरेर वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

जसमा वन, वातावरण तथा सहकारी मन्त्रालयमा एमालेका वीरबहादुर थापा, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयमा एकीकृत समाजवादीकी माया पन्तलाई जिम्मेवारी दिइएको थियो । कृषि तथा भूमि मन्त्रालयका टिका थापा थिइन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी एमालेका हिरा सार्कीले पाएका थिए । भागबन्डा मिलाएर सत्ता जोगाउन ७ वटा मन्त्रालयलाई १० वटा बनाएका सोडारीले पुन साबिक कै मन्त्रालय बनाएर मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री सोडारीले मन्त्रालयको संख्या घटाउँदै बिहीबार मन्त्रीहरूको जिम्मेवारी तोकेका थिए । मुख्यमन्त्री सोडारीले माओवादीका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

भौतिक पूर्वाधार मन्त्रीमा नाउपाका कैलाश चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नाउपाकै टीका थापालाई जिम्मेवारी दिएका मुख्यमन्त्री सोडारीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा आफ्नै पार्टी नेकपा एकीकृत समाजवादीकी माया पन्तलाई जिम्मेवारी दिएका छन् ।

यसअघि भागबन्डा मिलाउन मुख्यमन्त्री सोडारीले सात वटा मन्त्रालय टुक्राएर १० वटा बनाएका थिए । अहिले पुन मन्त्रिपरिषद्बाट निर्णय गर्दै त्यसलाई घटाएर सात वटा कायम गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पास नभएर अहिले बजेट शून्यतामा प्रदेश प्रवेश गरेको छ । सरकारको खर्च आम्दानी पनि ठप्प छ ।