बाढीग्रस्त क्षेत्र निरीक्षणपछि अधिकारीसँग छलफल, राहत र मर्मतमा खटिन पूर्वमुख्यमन्त्री रावलको आग्रह

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले असार तेस्रो साताको अविरल वर्षापछिको बाढी र डुबानले पुर्याएको क्षतिको विवरण लिएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटासँग छलफल गर्दै क्षतिको विवरण लिएका हुन् ।

रावलले प्रमुख जिल्ला अधिकारी सापकोटासहित सरकारी कार्यालयका प्रमुखसंग बाढी र डुबानको समस्याको दीर्घकालिन समाधान तथा विपद्मा राहत, उद्धारको विषयमा छलफल गरेका थिए ।

उक्त छलफलमा सडक, जनताको तटबन्ध, सिँचाई, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकिरण परियोजनालगायत सरकारी कार्यालयका प्रमुखको सहभागीता थियो ।

बाढी र डुबानले भौतिक संरचना र बालीनालीमा बढी क्षति पुर्याएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले सरकारी कार्यालयका प्रमुखलाई एक साताभित्र क्षतिको पूर्ण विवरण पेश गर्न निर्देशन दिएका छन् ।

उक्त छलफलमा प्रस्तुत गरिएको क्षतिको विवरणअनुसार बाढी र डुबानले २२ विगाह क्षेत्रमा तयार पारिएको पोखरीका माछा नष्ट भएका छन् । जिल्लाभर २१३ बाख्रा मरे। बाढीले डुबानले धेरै घर, गोठमा क्षति पुर्याएको छ ।

दोधारा चाँदनी, भीमदत्त, बेलडाँडी, वेदकोट, पुनर्वास र बेलौरी नगरपालिकाले बाढी र डुबानले प्रभावित बनेका थिए ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका रावल नेतृत्वको जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दाको पीडा सुनिरहेको छ । बिहीबार दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका थिए ।

शुक्रबार बिहान रावल नेतृत्वको टोली बाढीले पुर्याएको क्षति निरीक्षणका लागि भीमदत्त नगरपालिका–९ को मटेना क्षेत्रमा पुगेको थियो ।

अविरल वर्षाले निर्माणाधीन महाकाली सिँचाई तेस्रो चरणको नहरमा पानी भरिएर बस्ती पसेको थियो । राम टोल चम्मन चोकका स्थानीय भुवन सिंह धामीको २ कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको थियो। चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव लिंक रोडमा क्षति गरेको छ ।

थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ का पूर्व अध्यक्ष राम नाथले बताए । लुम्डानीका स्थानीय राजमतीदेवी विष्टको घर कटानले जोखिममा छ। त्यहीँको कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ ।

यस्तै, भीमदत्त नगरपालिका–९ स्थित थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाएको छ। जसले भीमदत्तको वडा नम्बर ६, ७ र ८ संगको सडक सञ्जाल टुटेको छ ।

निङलाशैनी टोलका स्थानीय सुरज नाथ, मोहन नाथ, तारा नाथ, भीम नाथ, अर्जुन नाथ र राजेन्द्र नाथको घर खेत जोखिममा परेको छ। महाकाली सिँचाइ तेस्रो चरणको नहरमा पानी ओभरपलो भएर बस्ती पसेको थियो ।

स्थानीय देवबहादुर चन्दको घर तीनतिरबाट कटान गरेकाले उच्च जोखिममा छ। चन्दको घरमा भाडामा बस्ने शम्भु ओडले स्थानीय मालिकार्जुन आधारभुत विद्यालयमा आश्रय लिएका छन् ।

निरीक्षणका लागि पुगेको पूर्वमुख्यमन्त्री रावलसहितको टोलीसंग यहाँका स्थानीयले तटबन्ध निर्माण गरेर जोखिममा रहेका घर जोगाइदिन माग गरेका छन्। यस्तै, भत्किएको सडक मर्मत गरेर आवागमन सुचारुका गर्न उनीहरुले माग गरे ।

बाढीग्रस्त क्षेत्रको निरीक्षणपछि उक्त टोलीले जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको हो । रावलले सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई तत्काल सडक मर्मत र तटबन्ध निर्माण गर्न निर्देशन दिएका थिए ।