कर्णालीका मुख्यमन्त्री भन्छन्- कांग्रेस खोज्न म आफैं काठमाडौं जानुपर्ने हो कि!, कांग्रेस भन्छ- कसले त्यसो भन्यो?

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24
Paschim Today

सुर्खेत : शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समसामयिक विषयमा पत्रकार सम्मेलन गरे। उनले सय दिनको अवधिमा आफूले गरेका कामहरूको विषयमा जानकारी दिँदै अब गर्नुपर्ने कामहरूको विषयमा पत्रकारहरूसँग सुझाव पनि मागे। 

त्यहीबेला पत्रकारहरूले अब सरकारले कहिले पूर्णता पाउँछ? भन्दै प्रश्न गरे। जबाफमा उनले पछिल्लो समय फेरिएको राजनीतिक घटनाक्रमले आफूहरुले कांग्रेससँग छलफल गर्नुपर्ने भएपनि कांग्रेसका सांसदहरू काठमाण्डौंमा भएका कारण असहज भएको बताए।

‘पछिल्लो समय आएको राजनीतिक फेरबदलको विषयमा यहाँहरू जानकार नै हुनुहुन्छ। अहिले कांग्रेससँग हाम्रो छलफल हुनुपर्ने हो। तर, उहाँहरू आन्तरिक छलफलका लागि काठमाण्डौंमै व्यस्त हुनुहुन्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘अब म आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि!’

मुख्यमन्त्री कँडेलले कांग्रेसकै कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिएको बताउँदै केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नु परेको सुनाए।

आफू काठमाडौँ जाँदा सामान्य छलफल भएको बताउँदै कँडेलले एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने बताए।

मुख्यमन्त्री कँडेलले नयाँ सत्ता समिक रण बनेसँगै नयाँ किसिमले भागबन्डा गर्ने संकेत गरे।

‘यसअघि माओवादीकै साथीहरू भएको खाली ठाउँ भर्ने हो कि भन्ने हल्ला पनि चलेको छ। तर, त्यसो हुँदैन पुरै नयाँ तरिकाले कुरा अगाडि बढ्छ,’ उनले भने।

उता नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले मुख्यमन्त्रीले कांग्रेस खोज्न काठमाण्डौं आउन नपर्ने जबाफ दिए।

‘हामीलाई खोज्न मुख्यमन्त्रीज्यू काठमाण्डौं आइरहन पर्दैन। जहाँ–जहाँ कांग्रेस गयो त्यहाँ मुख्यमन्त्रीले जानुपर्छ भनेर कसले भनेको छ र?,’ प्रमुख सचेतक विष्टले भने, ‘दुई दलका शीर्ष नेताहरूबीच छलफल भएपछि केही बुँदामा सहमति होला त्यसपछि पो सरकारमा जाने होला त।’

सचेतक विष्टले सरकारमा सहभागिता जनाउने र भागबण्डाको विषयमा माथिल्लो स्तरबाट निर्देशन हुने भन्दै केही दिनमा नै सरकारमा आफुहरु जाने छलफल चलिरहेको बताए।

यसअघि एमाले–माओवादीको गठबन्धन सरकारमा माओवादीले चार मन्त्रालय र एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको थियो।

मुख्यमन्त्री कँडेलले कानुन मन्त्रालय आफैंसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र राज्यमन्त्री बनाएका थिए। 

माओवादीबाट सरकारमा सहभागी चार जना मन्त्रीहरूले साउन ७ गते राजीनामा दिइसकेका छन्।

गत चैत २१ गते मुख्यमन्त्री कँडेल माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए। एमाले र माओवादीबीच साढे दुई–दुई वर्ष सरकारको नेतृत्व लिने सहमति भएको थियो। 

२०७४ साल यता बनेका हरेक सरकारमा सहभागी माओवादी सात वर्षपछि पहिलोपटक प्रतिपक्षमा बस्न बाध्य भएको छ। 

४० सदस्यीय प्रदेशसभामा ३९ जना सांसद छन्। नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले बिषेश अदालतमा मुद्दा दायर भएका कारणले अहिले निलम्बनमा छन्। 

कर्णालीमा बहुमतका लागि २१ जना सांसद आवश्यक पर्छ। हाल कांग्रेस र माओवादीसँग २४ जना सांसद छन्।