टीकापुर घटनाको ९ वर्ष पूरा : रेशम भन्छन्- अरूले रजाइँ गरे, रन्जिता भन्छिन्- निर्दोष थारु थुनिए

शुक्रबार भदौ ७, २०८१/ Friday 08-23-24
Paschim Today

कैलाली । २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । त्यसको भोलिपल्ट रेशम चौधरीकोको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो ।

थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको उक्त घटनाको ९ वर्ष पूरा भएको छ ।

अहिले पनि घटनामा ज्यान गुमाएकाहरूले न्यायको अनुभूति गर्न सकेका छैनन् । तीनै तहको अदालतले दोषी ठहर गरेका रेशम चौधरीले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि २०८० जेठ १५ गते रिहा भएका थिए । घटनाको योजनाकारको आरोप लागेका उनी घटनापछि भूमिगत भएका थिए । रेशम चौधरीले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको र आफूलाई फसाइएको बताउँदै आइरहेका छन् ।

२०७४ मङ्सिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

वारिसनामा उम्मेदवारी दिएर चुनाव जिते पनि प्रमाणपत्र ग्रहण गर्न उनी आफैँ आउनु पर्नेभयो । त्यसैले प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित रिट हाले तर सर्वोच्चले अस्वीकार गरेपछि उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे ।

पुर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपायलले सजायलाई सदर गरेको थियो ।

उक्त घटनामा कैद सजायसमेत भोगेर आममाफी पाएर रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुरबासीका लागि आजको दिन कालो दिन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- ’सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन ।’

कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदा पनि आजसम्म फूलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए । उनले थपे, ’राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरशः गरेको हुँ । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरूले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।’

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पनि उक्त घटनालाई स्मरण गर्दै बिना प्रमाण निर्दोष थारु थुनिएको बताएकी छन् ।

‘आज भदौ ७ गते हामी सबै त्यो २०७२ को भदौ सात गते सम्झिन र स्मरण गर्न चाहन्छौँ ,,मानवीय क्षतिमा परी ज्यान आहुति दिएका सबैलाई हृदय देखि सम्झिन चाहन्छौँ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘सबैभन्दा बढी सम्झना त्यो अवरोध प्यारो बाबुको छ हृदयमा, एक आमा भएको नाताले पनि म भित्र मातृत्व भाव बढी भएर होला म त्यो बाबुमा आफ्नो एक मात्र छोरा प्यारो आभूषण देख्छु । त्यो घटना राजनीतिक आन्दोलन थियो र नहुनु पर्ने भयो तर बिना प्रमाण निर्दोष थारु थुनिए ।’

उनले घटना कहिल्यै नदोहोरायोस् भन्ने कामना पनि गरेकी छन् । ‘कहिले पनि भुल्न नसक्ने त्यो भाद्र ७ अब कहिल्यै पनि नदोहोरायोस्’ उनले लेखेकी छन् ।