७४९ बाट छानिए उत्कृष्ट ६ पालिका, सुदूरपश्चिमका कुनै परेनन्

शुक्रबार भदौ ७, २०८१/ Friday 08-23-24
Paschim Today

बुटवल : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूबीच गराएको प्रतिस्पर्धाको आधारमा ६ वटा पालिकाहरूलाई उत्कृष्ट घोषणा गरी सम्मान गरेको छ। बिहीबार मन्त्रालयमा छानिएका पालिकाहरूलाई कदरपत्रले सम्मानित गरिएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) कार्यक्रमअन्तर्गत देशभरबाट ७ सय ४९ वटाले अनलाइन आवेदन दिएका थिए। 

मन्त्रालयका स्थानीय तह समन्वय शाखाका उपसचिव रेशम कँडेलले पालिकाहरूले संस्थागत सुशासन र गरेको कामको गुणस्तर परीक्षणपछि तीन/तीनवटा गाउँपालिका र नगरपालिकालाई उत्कृष्ट घोषित गरिएको हो।  धादिङको नीलकण्ठ नगरपालिका (९२.५०), रुपन्देहीको तिलोत्तमा नगरपालिका (९२) र चितवनको रत्ननगर नगरपालिका (९१.५) उत्कृष्ट भएका छन्। त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका (८७.२५), गुल्मीको रुरुक्षेत्र गाउँपालिका (८७) र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका (८७) उत्कृष्ट भए।

चितवनको राप्ती नगरपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु र सप्तरीको विष्णुपुर गाउँपालिका प्रतिस्पर्धामा सहभागी नै भएनन्। एक सय पूर्णांकलाई आधार मानेर पालिकाहरूको मूल्यांकन गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा नमुनाको रूपमा लिएर पालिकाहरूको छनौेट हुने गर्दथ्यो। तर, यसवर्ष बृहत् रूपमा पालिकाहरूको गुणस्तर परीक्षण गरेरै उत्कृष्ट घोषित भएको कँडेलले जानकारी दिए। पालिकाहरूले आर्थिक वर्ष २०७९/८० मा गरेको कार्यसम्पादन मूल्यांकन हेरिएको थियो।

‘संघ सरकारले स्थानीय तहलाई दिने अनुदानमा उत्कृष्ट पालिकाहरूलाई विशेष प्राथमिकता हुन्छ’, कँडेलले भने, ‘यसपालि उनीहरूले गरेको कामको गुणस्तर परीक्षणबाट उत्कृष्ट छनोट गरिएको छ। मूल्यांकनपछिको सम्मानले पालिकाको विकासमा दीर्घकालीन महत्व राख्छ।’ मन्त्रालयले यसका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७, पहिलो संशोधन २०७८ बनाएको छ। 

के गरे पालिकाले ?  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न १० वटा विषय क्षेत्र र सूचकहरूलाई आधार मानेर मूल्यांकन पालिकाहरूको मूल्यांकन गर्ने गर्छ। मूल्यांकनका लागि मुख्य सूचकभित्र विभिन्न १ सय ६७ वटा उपसूचकहरूसमेत मूल्यांकनको आधारको रूपमा राखिएको थियो। उत्कृष्ट भएका सबै पालिकाहरूले ती सूचकहरू पूरा गरेका छन्। त्यसैको आधारमा उत्तीर्ण अंकसहित मन्त्रालयले छनौट गरेको हो। 
लुम्बिनी प्रदेशकै पहिलो र नेपालमा तेस्रो अंक सहित उत्कृष्ट भएको रुपन्देहीको तिलोत्तमा नगरपालिका पटक–पटक उत्कृष्ट घोषित हुँदै आएको छ।

यस नगरपालिकालाई नेपाल नगरपालिका संघले २०७७ सालमा सुशान तथा सेवा प्रवाह र २०७८ सालमा सामाजिक विकासतर्फ उत्कृष्ट काम गरेको भन्दै प्रतिस्पर्धाको आधारमा पुरस्कृत गरेको थियो। ‘हामीले बजेट निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिएर काम गरिरहेका हुन्छौँ’, नगरप्रमुख रामकृष्ण भन्छन्, ‘हामीले गरेको कार्यसम्पादनबाट नगरवासीहरूको सन्तुष्टिको मापन पनि हेर्छौं। काम गर्ने तर जनता खुसी नहुने हो भने त्यस्तो विकासको कुनै अर्थ हुँदैन्। विकास निर्माणसँगै संस्थागत तथा वित्तिय सुशासन अझ अर्को महत्वपूर्ण पाटो हो।’ यो नगरपालिका विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँगको आबद्धतासँगै आइएसओ सर्टिफाइडसमेत हो। 

निरन्तरको सम्मानले कर्मचारी र जनप्रतिनिधिहरूलाई काम गर्नका लागि थप प्रेरणा जाग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रतिक्रिया छ। ‘समग्र पालिकाको उद्देश्य नागरिकलाई सरल र सहज रूपमा सेवा दिनुनै हो’, उनले भने, ‘काम गर्ने सिलसिलामा माथिल्लो निकायले गरेको मूल्यांकनले हौसलासँगै थप जिम्मेवार बनाउँदो रहेछ।’ 

चितवनको रत्नगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासीलाई बीना व्याँज तीन लाख रुपैयाँ उद्यमशीलताका लागि ऋण दिने व्यवस्था मिलाएको जानकारी दिए। ‘कामहरू त धेरै गरेका छौँ’,उनले भने, ‘तर, कतिपय नीति तथा कार्यक्रमले नागरिकहरूको मन छोएको पाइयो। त्यसमध्येको एक हो बिना ब्याजको ऋण।’ उनले सरकारले तोकेको समयभन्दा जहिल्यै अगाडि नै वार्षिक नीति, कार्यक्रम तथा बजेट ल्याउने गरिएको जानकारी दिए। विपन्न वर्गलाई स्वास्थ्य बिमा, १६ वटै वडामा स्वास्थ्यचौकी, सवै वडा आफ्नै जग्गा र भाडामा सञ्चालन भएको सापकोटाले बताए। 

संविधानले तोकेको ऐन, नियम र पालिकाले छुट्टै कार्यविधि बनाएर मात्र वार्षिक बजेट खर्च गर्ने गरिएको रुरुक्षेत्र गाउँपालिका गुल्मीकी उपाध्यक्ष मीनादेवी गौतमले जानकारी दिइन्। ‘विकास निर्माणको योजनाको प्रभावकारीअनुगमन र मूल्यांकन गर्छौं’,उनले भनिन्, ‘गत आवमा ८६ दशमलव १८ प्रतिशत विकिास बजेट खर्च भएको छ।’ उनले सबैको साथ र सहयोगले मात्र पालिका उत्कृष्ट बन्न सफल भएको प्रतिक्रिया दिइन्। 

के गरे उत्कृष्टले ?  

  • बजेट समयमै ल्याए
  • भवन बनाए
  • स्वास्थ्यचौकी भवन बनाए
  • बिना ब्याज ऋण दिए
  • महिलालाई उद्यमशील बनाए
  • विपन्नलाई स्वास्थ्य बिमा गराए
  • निःशुल्क औषधि दिए
  • विपद् व्यवस्थापनमा विशेष योजना बनाए
  • विकासमा समुदाय परिचालन गराए
  • वातावरणलाई स्वच्छ र हराभरा बनाए
  • कार्यविधि बनाएर मात्रै योजना चलाए
  • सुशासनलाई विशेष ध्यान दिए

यी हुन् मूल्यांकनका विषयक्षेत्र र सूचकहरू

  • शासकीय प्रबन्ध
  • संगठन तथा प्रशासन
  • वार्षिक बजेट तथा योजना व्यवस्थापन
  • वित्तीय एवं आर्थिक व्यवस्थापन
  • सार्वजनिक सेवा प्रवाह
  • न्यायिक कार्यसम्पादन
  • भौतिक पूर्वाधार
  • सामाजिक समावेशीकरण
  • वातावरण संरक्षण तथा विपद् व्यवस्थापन
  • सहकार्य र समन्वय