राती सुतेकै अवस्थामा सेती नदीमा खसे करन

बिहीबार भदौ १३, २०८१/ Thursday 08-29-24
Paschim Today

बझाङ : छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गाल मालुझाडका करन गिरी गएराती १२ बजे राती सुतेकै अवस्थामा सेती नदीमा खसे। उनलाई सेतीमा पुगेपछि आफू र जस्ताले छाएको घरसँगै खसेको थाहा भयो। झण्डै सेतीको पानीमा डुबेका उनी एक हातले ढुङ्गामा समाउँदै उत्रिए त्यसपछि गुहार माग्न थाले।

ठूलो आवाज आएकोले पारिपट्टी अर्थात् मालुमेलाबासी केहीको मनमा के भयो भनेर चिसो पसेको थियो। करनको गुहार भन्ने शब्दले दिपेन्द्र खड्का, जया गिरी, हरिलाल भट्टराई, अर्जुन गिरी ब्युझिएर बाहिर निस्के। केही करन भएतिर लागे भने केही नजिकै रहेको मालुमेला प्रहरी चौकी तर्फ लागे। होहल्ला भएपछि सेती  वारिपारिका बासिन्दा ब्युझिए। करनको सबै मिलेर सकुशल उद्धार गरे। ३६ वर्षीय करनको शरीरभरि चोट लागेकाले बोल्न सक्ने अवस्थामा छैनन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ।

श्रीमती र छोराछोरी गाउँको पुरानो घरमा 

संयोगबस करनको श्रीमती धना गिरी र उनका चार छोराछोरी बाहिर थिए। धना महिनावारी भएकाले तीन केटाकेटीसहित आफ्नो गाउँको पुरानो घरमा सुत्न गएकी थिइन्। उनलाई करन सेतीमा खसेपछि गाउँलेले खबर गरेपछि मात्रै घटनास्थल पुगेकी थिइन्। उनले सम्झिँदै भनिन्,‘म महिनावारी नभएको भए हामी सबैको एकै चिहान हुने थियो। भाग्यले बचायो। एक छोरा इन्डिया छ। तीन केटाकेटी र म मेरो पुरानो घरमा सुत्न गएका थियौं।’

टहरासँगै खाद्यान्न, लुगाकपडा, नगद ९ हजार र बालबालिकाका स्कुलका प्रमाणपत्र बगेको छ। भूकम्पले चर्काएको भए पनि बलियो चट्टान भन्दै बसिरहेका परिङ्गाल र मालुमेला बासी यो पहिरोपछि भने त्रसित देखिन्छन्। करनका दाइ लक्ष्मीराज गिरी भन्छन्,‘पहिलाका हाम्रा बाउबाजे यो ठाउँ बलियो भन्दै बसिरहेका थिए। आजसम्म केही भएको थिएन। तर एक्कासि गएराती यो घटनाले चसक्क भयौं। अब त गाउँ जान बेर छैन।’

पहिरोको संकेत पहिले नै थियो
यो ठाउँमा पहिरो जान्छ भन्ने संकेत त्यहाँ परेका दराले देखाइरहेको थियो। करन कुन दिन म सेतीमा जान्छु भन्दै विकल्प नभएकोले त्यही टहरामा बसिरहेका थिए। नभन्दै बुधबार राति पहिरो गयो। अहिले घटनास्थलमा मालुमेला प्रहरी चौकीले थप अनुसन्धान तथा खोज तलास गरिरहेका छन्।