धनगढीबाट सरकारलाई प्रचण्डको चेतावनी- दुई तिहाइको घमण्ड नगर्नुहोस्, बङ्गलादेश र श्रीलङ्का सम्झिनुस्

बिहीबार भदौ १३, २०८१/ Thursday 08-29-24
Paschim Today

कैलाली । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले बङ्गलादेश र श्रीलङ्काको अवस्था आउन सक्ने भन्दै चेतावनी दिएका थिए।

‘दुई तिहाइको घमण्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु । दुई तिहाइको घमण्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’ उनले भने ।

दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने समेत उनले बताएका थिए ।

‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ । संविधानमा हामीले धेरै मेहनत गरेर समावेशी र समानुपातिकको व्यवस्थालाई राखेका छौ । त्यसमा दलित मुस्लिम, महिला, मुस्लिम, थारुहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन । उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ । समानुपातिक भनेपछि माओवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ ’ प्रचण्डले भनेका थिए ।

यसैबीच प्रचण्डले माओवादी फुट्छ भन्ने हल्ला भ्रम मात्रै रहेको बताएका छन् । आफूहरू झन् एकताबद्ध भएकाले र आफ्नो पार्टीभित्र मात्रै होइन बाहिर रहेको माओवादी घटक क्रान्तिकारी शक्तिहरूलाई एउटै पार्टी बनाएर लैजान सशक्त रूपमा लागेको पनि बताए ।

अध्यक्ष प्रचण्डले दुई ठुला पार्टी रक्षात्मक रूपमा मिलेको बताउँदै सरकार बनाउन माफिया सक्रिय भएको बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने पनि बताए । उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए । ‘ ५ वर्षे हदम्याद हामीलाई मात्र होइन नेपाली कांग्रेसलाई पनि स्वीकार हुँदैन होला जस्तो लाग्छ मलाई ’ उनले भने ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा र क्रान्तिकारीसँग पनि छलफल चलिरहेको बताएका थिए ।समग्रमा अहिले सुशासनको पक्षमा सामाजिक न्यायको पक्षमा भयानक आर्थिक सङ्कटबाट बाहिर ल्याउन आफ्नो नेतृत्वको सरकार सफल रहेको प्रचण्डको जिकिर थियो ।

भट्टलाई दलको नेता बनाउन निर्देशन

प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराज भट्टलाई बनाउन निर्देशन दिएका छन् । धनगढीमा बसेको पार्टीको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका हुन् ।

‘यसअघि नै अध्यक्ष र महासचिवबाट खगराजलाई दलको नेता बनाउन सर्कुलर भइसकेको हो ’ अध्यक्ष प्रचण्डले भने, ‘उक्त सर्कुलर तत्काल कार्यान्वयन हुन्छ । त्यसका लागि यो बैठकले निर्देशनात्मक निर्णय पनि गरेको छ ।’

असार १२ गते माओवादी अध्यक्ष र महासचिवले दलको नेता भट्टलाई बनाउन लिखित सर्कुलर गरेका थिए । तर, दुई महिनासम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन । उक्त विषयमा आफूले बैठकमा निर्देशन दिएको भन्दै अब दलको नेता फेरिने बताएका थिए ।

संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरिएको थियो । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

प्रचण्डको बैठकमा पनि यस विषयमा निर्देशन दिइसकेको बताएका छन् ।