अमेरिकी राष्ट्रपति बाइडेनका छोराले स्वीकारे कर छलीको आरोप

शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हण्टर बाइडेनले संघीय कर छलीका सबै नौ वटा आरोपमा दोष स्वीकार गरेका छन् । घटनाले संघीय अभियोजकहरूलाई चकित पारिदिएको छ । मुद्दा परीक्षणको तयारी भइरहेको छ । 

५४ वर्षीय हण्टर बाइडेनले २०१६ देखि २०१९ सम्म १.४ मिलियन डलर कर नतिरेको आरोप लगाइएको थियो । उनले सुरुमा आरोपहरू स्वीकार गर्दै निर्दोष भएको बताउँदै आएका थिए ।
तीन महिना पहिले, हण्टर बाइडेनलाई हतियार र मादक पदार्थ प्रयोगसँग सम्बन्धित आरोपहरूमा दोषी ठहराइएको थियो ।

जसका कारण उनी अमेरिकाको बहालवाला राष्ट्रपतिका पुत्रका रूपमा पहिलो पटक दोषी ठहरिएका थिए । लस एन्जलस अदालतमा बिहीबार अन्तिम समय उनी नौ वटा करछलीका आरोप स्वीकार गरेको बिबिसीले जनाएको छ ।

उनको मुद्दामा जूरी छनोटको प्रक्रिया सुरु हुन लागेको थियो । त्यसका लागि  एकसय भन्दा बढी सम्भावित जूरी सदस्यहरूले प्यानल चयन प्रक्रिया सुरु गर्नको लागि जम्मा भएका थिए । बाइडेनका  वकिल अब्बे लोवेलले ‘व्यक्तिगत चासोको लागि’ परीक्षणबाट रोक्न चाहेको बताए । उनले यो घटना ‘ड्रगको लतका कारण’ पनि भएको बताए ।

जज मार्क स्कार्सीका अनुसार आरोप स्वीकार गरेपछि हण्टर बाइडनलाई १५ वर्षसम्मको जेल सजाय र पाँच लाखदेखि १० लाख डलरसम्म जरिवाना लाग्न सक्छ । अब फैसला १६ डिसेम्बरमा हुनेछ ।

राष्ट्रपति बाइडनले पहिला नै आफ्ना पुत्रलाई माफी दिने कार्यकारी शक्तिको उपयोग नगर्ने बताइसकेका थिए । साधारण कर अपराधको आरोपमा हण्टर बाइडनले अघिल्लो वर्ष डेलावेयरमा दोष स्वीकार गर्न सहमति जनाएका थिए ।