सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?

शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today

२१ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने गर्नुपर्छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ ।

 

 

यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ । उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । यसको परिपालना नभएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।

यसलाई समेत आयोगले दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने (फेरी फ्लाइट) अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको छ ।

 

जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

यद्दपि, प्रारम्भिक प्रतिवेदनमा आएका कतिपय विषय पूर्णप्रतिवेदन आइसक्ने समयमा थप सूचनाका आधारमा अर्को निष्कर्षमा पुग्ने सम्भावना समेत हुन्छ ।

सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो ।

क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको १ मिनेट ४० सेकेन्डमा दमकल घटनास्थल पुगेको समेत प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनले सबै वायुसेवा कम्पनीलाई कार्गो उडान सम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ । ननसेडुल फ्लाइट र फेरी फ्लाइटका नियमहरूको नियमन दुरुस्त बनाउन र नियम समेत रिभ्यु गर्न प्रतिवेदनले प्राधिकरणलाई सुझाव दिएको छ ।