तथ्यहीन प्रचारबाजी गर्ने युट्युबमाथि काउन्सिलको निगरानी, अध्यक्ष बस्नेत भन्छन्- सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24
Paschim Today

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा, तथ्यहीन र बतासे कुराको प्रचारबाजीमा नलाग्न युट्युबहरूलाई चेतावनी दिएका छन् ।

अध्यक्ष बस्नेतले नकरात्मकता त्यागेर सफलताका लागि रचनात्मक पहल लिन सबैलाई आग्रह गरेका थिए । सोमबार काउन्सिलमा आयोजित एक कार्यक्रममा उहाँले युट्युब र अनलाइन सञ्चार माध्यम हावा सूचनाको पछि लाग्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने समेत बताए ।

सामाजिक सञ्जालको सदुपयोग भए देश बन्छ । हावा कुराको पछि लाग्नु, अफवाह र भ्रम फैलाउनु दुरुपयोग हो, अध्यक्ष बस्नेतले भने ।

मिडियाको गलत प्रस्तुतिका कारण सिंगो समाजमा गलत भाष्य स्थापित भएको भन्दै काउन्सिलले केही महिनादेखि रचनात्मक पत्रकारितालाई अभियानकै रुपमा बहस चलाएको छ ।

काउन्सिलले बोर्ड बैठकबाट अबको पत्रकारिता समाधानमुखी र रचनात्मक हुनुपर्ने र त्यसलाई देशब्यापी बनाउने निर्णय भएको थियो ।
युट्युवसहित सामाजिक सञ्जालमा देखिएका बेथिति रोक्न काउन्सिलले यस्तो अभियान थालेको हो ।

प्रेस काउन्सिलले पछिल्लो समयमा एकपक्षीय, आधारहीन र तथ्यहीन सूचना सम्पे्रषण गर्ने युट्युवसहितका मिडियालाई कडा कानुनी कारवाही गर्दै आएको छ ।