कैलाली कारागार भित्रै थुनुवाको मृत्यु : १२ बजेसम्म परिवारसँग बोल्दै थिए दीपक, एक्कासि कसरी गयो ज्यान ?

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24
Paschim Today

कैलाली । कैलालीको जिल्ला कारागार भित्रै एक थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

दिउँसो करिब ३ बजेतिर शौचालयमा लडेको अवस्थामा भेटिएका दीपकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । करिब ६ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने बताए पनि दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् ।

कारागारको लापरबाहीका कारण आफ्नो भाइले ज्यान गुमाएको उनका अङ्कल ।नेत्र पहराईले बताए । 

‘आज दिउसो १२ बजेसम्म  पनि कुरा भएको थियो । ३ बजेतिर बिरामी भएको भन्दै फोन आयो अस्पताल पुग्दा त मृत्यु भइसकेको थियो ’ उनले भने, ‘कारकार भित्रै रहेको एउटा व्यक्तिको एक्कासि कसरी मृत्यु हुन्छ यो रहस्यमय घटना छ ।’

 केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए । दीपककै आफन्तले उनीहरु दुबैलाई घर बोलाएपछि २०८० माघ ७ दीपक विरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । दाइ बहिनी नाता पर्नेबिच हाड नाता करणीमा मुद्दा दायर भएपछि दीपक कारागार चलान भएका थिए । 

  दीपकले १२ बजेसम्म पनि कुरा हुँदा त्यस्तो कुनै समस्या बारे आफन्तलाई बताएका थिएनन् । तर, त्यसको केही घण्टा भित्रै उनको मृत्युले कारागार सुरक्षामा पनि गम्भीर प्रश्न उब्जिएको छ ।

प्रहरीले ‘खोकी लागेको थियो ,औषधी खाएपछि बमिट भएको हो’ भन्दै आफन्तलाई खबर गरेपछि धेरैले विष सेवन गरेको आशङ्का गरेका छन् । तर, प्रहरीले भने त्यस विषयमा पोष्ट मार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्ने बताएको छ ।

‘गल्तीको सजाय भोग्न कारागार गएको थियो । कारागार भित्रै मृत्यु हुने विषय सामान्य होइन । यस विषयमा गम्भीर छानबिन हुनुपर्छ’ मृतकका अङ्कल पहराइले बताए ।

यसअघि पनि कैलाली कारागार भित्रै थुनुवाको मृत्यु भइरहेको घटना सार्वजनिक हुने गरेको थियो । तर, त्यसमा ठोस अनुसन्धान नहुँदा कारागार भित्रै किन थुनुवाको मृत्यु हुन्छ भन्ने बारे तथ्य बाहिरिएको छैन । दीपक विकको घटनामा उनका आफन्तहरूले सत्य तथ्य छानबिनको माग गरेका छन् ।