प्रधानमन्त्रीलाई  मिश्रको प्रश्न :  मजदुरहरूलाई नेपाल मै बस्ने वातावरण सरकारले कहिले बनाइदिन्छ  ?

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कैलाली पहलमानपुरका एक युवाले नेपालीहरू बिदेसिने क्रम बढेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई पहलमानपुर १० का निर्मल मिश्रले मजदुर पलायन रोक्न आग्रह गरेका हुन् । मिश्र पेसाले सवारी चालक हुन् । उनले आफूले सवारी चलाउँदाको सास्ती उल्लेख गर्दै सरकारलाई नीतिगत निर्णय गर्न आग्रह समेत गरेका छन् ।

‘सुदूर पश्चिम यातायात प्रा ली को सार्वजनिक सवारी साधन धनगढी देखी काठमाडौँ रुटको नाइट बस चलाउँछु । म नेपाल मै बस्न चाहन्छु ।अर्काको देशमा काम गर्न जाँदिन किनकि विदेशको जत्ति पैसा मेहनत गरे नेपाल मै त्यो पनि घर परिवार सङ्ग बसेर महिनाको ६० देखी ७० हजार सम्म  कमाउन सकिन्छ ’ उनी भन्छन्, ‘अन्य मेरा साथीहरूलाई १० देखि १५ लाख लगानी लगाएर अर्का देशमा त्यो पनि ७०÷ ८० हजार  कमाउन किन जानु पर्‍यो भन्ने व्यक्ति हु ।’

उनले यातायातमा काम गर्ने मजदुरहरूलाई निकै समस्या रहेको बताएका छन् ।  नेपालमा म र म जस्ता साढे ११ लाख यातायातमा काम गर्ने मजदुरहरूलाई नेपाल मै बस्ने वातावरण चाहिँ सरकारले कहिले बनाइदिन्छ प्रधानमन्त्री ज्यु ? उनले प्रश्न गरेका छन् ।

 धनगढी देखि काठमाडौँ पुग्दा सम्म करिब ७ सय किलोमिटर यात्रा  पार गर्न ३३ ठाउँमा चेकिङको सामना गर्नु पर्ने, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना गरि विभिन्न ठाउँहरूमा चेकिङ ले गर्दा सास्ती खेप्नु पर्ने र  अझै प्रहरीहरूले चेकिङको नाममा ट्रक बसहरूलाई रोक्ने सताउने पैसा दिए छिटो गर्दिने नभए ढिलो गर्ने उनले समस्या उल्लेख गरेका छन् ।

 महेन्द्र राजमार्ग राजमार्ग जीर्ण हुँदा थप समस्या भएको उनको भनाइ छ  । सडकको अवस्थाले दुर्घटना हुँदा पनि चालकलाई दोष दिएर सरकार उम्किने गरेको प्रति पनि उनले गुनासो पोखेका छन् । 

यी र यस्तै कारणले चालकहरू पलायन भइरहेको भन्दै उनले नेपालमै दक्ष जनशक्ति रोक्न सरकारले पहल गर्नु पर्ने बताएका छन् ।