अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

काठमाडौँ । नेपाल–अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी थियो । 

नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । बैठकमा सहभागी अमेरिकी टोलीले नेपाललाई आवश्यक सहायता चाहेका क्षेत्रको विस्तृत विवरण उपलब्ध गराउन माग गरेको छ । 

 

 

नेपालले अमेरिकासँग व्यापार सुविधा, नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम, (एनटीपीपी)को समयावधि थप्न प्रस्ताव पनि गरेको थियो । त्यस्तै नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । यसमा अमेरिकी टोली सकारात्मक देखिएको वाणिज्य मन्त्रालयले जनाएको छ । 

व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबिच थप सहयोग आदान–प्रदान गर्ने विषयमा सहमति पनि भएको छ । अमेरिकी टोलीले नेपाललाई लगानी सम्बन्धी कानुनी र प्रक्रियागत सुधार गर्न सुझावसमेत दिएको छ । परिषद्को आठौँ बैठक अमेरिकामा आगामी वर्ष सन् २०२५ मा बस्ने जनाइएको छ ।