४० वर्ष मुनिका युवाकाे राष्ट्रिय शिखर सम्मेलन गर्दै एमाले

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोख्रेलले युवा पुस्तालाई पार्टी काममा जोड्ने योजना अनुसार ४० बर्ष मुनिका युवाहरुको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार तुलसीपुरमा सम्बोधन गर्दै महासचिव पोख्रेलले नयाँ पुस्ताको विचमा पार्टीलाई पुर्‍याउनेगरी पार्टीले योजना बनाएको बताएका हुन्।

४० बर्ष मुनिका युवाहरुलाई लक्षित गरेर शिखर सम्मेलन आयोजना गर्न थालिएको उनले बताएका छन्। पार्टीमा युवा पुस्तालाई आकर्षित गर्दै संगठन बिस्तार र सदस्यता वितरण व्यापक बनाउँदै पार्टी कामलाई व्यवस्थित गरेर अघि बढ्न उनले निर्देशन दिए ।

`युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्नेगरी प्रभावकारी योजना निर्माण गरेर काममा खटिनुस्,´ उनले भने-`पार्टीले बनाएको योजना अनुसार पार्टीलाई व्यवस्थित गरेर अघि बढ्नुपर्छ ।´

जनसरोकारको मुद्दामा पार्टीलाई अग्रपंक्तिमा उभ्याउन निर्देशन दिए । यस्तै उनले प्रशिक्षणलाई पार्टी नेतृत्वको आधारको रुपमा विकास गर्नुपर्ने बताए । पार्टी कार्यालयलाई पनि व्यवस्थित बनाउन निर्देशन दिए । `पार्टी कार्यालय जनसम्पर्कको प्रमुख थलो बन्नुपर्छ । पार्टी कार्यालय अभिलेख कार्यालय पनि हो । सबै चिजको रेकर्ड व्यवस्थित हुनुपर्छ´, उनले भने- `पार्टीको प्रचारको कामलाई व्यवस्थित गरिनुपर्छ । सोसल मिडिया नेटवर्क बनाउनुपर्ने छ ।´

नयाँ कामका क्षेत्रको पहिचान गरेर परिचालन हुनुपर्ने बताए । लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक बसेको हो। पार्टीको कामलाई सांगठनिक, राजनीतिक र समृद्धिका रुपमा अभियानलाइ व्यापक बनाउने बिषयमा छलफल गरिएको थियो।