एसपीए कलेजले गर्यो ‘एसपीए स्टार्टअप फन्ड -२०२४’ को घोषणा

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

धनगढी, असोज । धनगढीको एसपीए कलेजले युवाहरूलाई उद्यमशील बनाउने र उनीहरूको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित ‘एसपीए स्टार्टअप फन्ड(२०२४’ को घोषणा गरेको छ । नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले दोस्रो पटक १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो । 
एसपीए स्टार्टअप फन्डको पहिलो संस्करण अन्तरगत एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौट भएको थियो । भने उनलाई कलेजले एसपीए स्टार्टअप फन्डको नियम अनुसार १० लाख रुपैयाँ प्रदान गरी सकेको छ  । कुनै नयाँ विकास वा आविष्कारका लागि सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो ।

एसपीए कलेजमा अध्ययनरत कुनै पनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउन फन्डमा आवेदन दिन सक्नेछन् । आवेदन दिएका मध्ये कुनै एक प्रस्तावले आवश्यकताअनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरूले रकम पाउन सक्नेछन् । 

युवाहरू को हरेक कुरा नयाँ ढङ्गबाट प्रस्तुत गर्न सक्ने क्षमताको कदर गर्दै यस्ता सोच भएका युवाहरूलाई अगाडि बढाउन साथ, हौसला र प्रेरणा मिलोस् भन्ने उद्देश्यले कलेजले स्टार्टअप फन्डको घोषणा गरेको बताउँदै फन्डका संयोजक मनोज भट्टले नवीन सोच, योजना, सपना र आइडियाहरूलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने बताए ।

शुक्रवार घोषणा भएको स्टार्टअपका लागि आगामी असोज ०६ गते देखी कार्तिक १५ गते सम्म  कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेल [email protected], गुगल फर्म https://forms.gle/44SjLU2fSNQnHoEt5 प्रस्तावना पठाउन सकिनेछ । 

एसपीए कलेजले युवाहरूको क्षमतालाई प्रोत्साहन गर्न पहिलेबाट नै लगानी गर्दै आएको छ । यसअघि एसपीएमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न आविष्कार र विकास गरेका छन् । एसपीएका विद्यार्थी सागर खनालले ‘एसपीए इभी मोडल वान कार’ बनाएका छन् । यस्तै सोहन कैनीले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेका छन् । भने दिनेश विष्टले इभी बाइक र बग्गी कारको निमार्ण गरेका छन् । 

त्यसबाहेक एसपीएका बीआईएम अध्ययनरत विद्यार्थीहरूले सस्तो किताब डटकम, स्मार्ट डस्टबिन, स्मार्ट होम, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, स्मार्ट सेन्सरलगायत उपकरणहरूको विकास गरेका छन् । 

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजले पछिल्लो समय हासिल गरेका उपलब्धिहरू लोभ लाग्दा छन् । लगातार तेस्रोपल्ट देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान, राष्ट्रिय शिक्षा सम्मान(२०८१ र उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ पाउनु, विद्यार्थीहरू त्रिवि, सुदूरपश्चिम टप निस्किनु, भौतिक संरचनामा भएको कायापलट, आइटीमा आधारित शिक्षा, अतिरिक्त क्रियाकलाप, पेड इन्टर्नसिप र विद्यार्थीलाई अवसर दिने मामलामा एसपीए अरू कलेजभन्दा धेरै अगाडि पुगिसकेको संयोजक भट्टले बताए । 

विद्यार्थीलाई अवसर दिने मामला पनि एसपीए अघि छ । कलेजले सुरु गरेको ‘पढ्दापढ्दै रोजगारी’ कार्यक्रम अन्तर्गत कलेजमै आई विभिन्न कम्पनी र व्यावसायिक प्रतिष्ठानहरूले विद्यार्थीहरूलाई रोजगारी दिइरहेका छन् । विद्यार्थीहरू पेड इन्टर्नसिपमा अमेरिका, बहराइन, शारजहा, थाइल्यान्ड, दुबई, कतार, मालदिभ्स, भुटान, भारत तथा नेपालकै विभिन्न तारे होटलहरु र व्यावसायिक प्रतिष्ठानहरूमा कार्यरत छन् । 

नबिल बैंकसँगको सहकार्यमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) कार्यक्रम लागु गरिएको छ । 

विश्व बजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देश विदेशबाट भिजिटिङ स्कलरहरूलाई निम्ताउने, विभिन्न देशका कलेजहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने, मा।वि तहका विध्यार्थीहरु का लागि विश्वका विभिन्न ५१ राष्ट्रहरूमा लागु रहेको माइसेकेन्ड टिचर प्रविधि मार्फत अध्ययन अध्यापन गराउनु, विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन विभिन्न १६ वटा क्लबहरू गठन गर्नु, सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम, निःशुल्क डेडिकेटेड कर्पोरेट वाइफाई जोन, मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप, सेमिनार हल, आधुनिक ल्याब, लाइब्रेरीले एसपीए कलेजलाई यस क्षेत्रमा विशिष्ट पहिचान दिएको छ ।