सुदूरपश्चिममै पहिलो पटक सेतीमा क्यान्सरको उपचार सुरु

बुधबार असोज १६, २०८१/ Wednesday 10-02-24
Paschim Today

धनगढी — सुदूरपश्चिममा एक मात्र रेफरल अस्पतालका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मंगलबारदेखि क्यान्सर रोगको निदान सेवा सुरु गरिएको छ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सेती प्रादेशिक अस्पतालको साझेदारीमा क्यान्सर रोगको जाँच सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष निर्मल शाहले बताए ।

हाललाई महिनाको एक दिन सेवा सञ्चालन हुने उनले बताए । ‘मंगलबार क्यान्सरका नयाँ विरामी पहिचान, फ्लोअपका विरामीले सेवा लिएका छन्,’ अस्पतालका व्यवस्थापक वेद जोशीले भने ‘यतै औषधि उपलब्ध गराउने र रिफर गर्नुपर्ने विरामीलाई चितवन रिफर गरिएको छ ।’

मंगलबार एक सय २ विरामीले सेवा लिएको जोशीले बताए । ती मध्ये सबैभन्दा धेरै ५२ जनाको पाठेघरको मुखको क्यान्सर (भीआइए) परीक्षण गरिएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नायब निर्देशक डा. उमेश नेपाल नेतृत्वमा पाँच जना चिकित्सकको टोली धनगढीमा आएर सेवा उपलब्ध गराएको हो ।

अस्पतालका अनुसार विरामीहरुबाट प्रयोगशाला शुल्कबाहेक अन्य शुल्क लिइएको छैन । हाललाई महिनाको एक दिन सेवा उपलब्ध हुने भए पनि आवश्यकता अनुसार सेवा उपलब्ध हुने दिन बढाउने बारेमा छलफल भइरहेको अस्पतालले जनाएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकको समूहले हरेक महिना यूरोलोजिस्ट सम्बन्धी, सर्जिकल सम्बन्धी, अङ्कोलोजी, मेडिकल अङ्कोलोजी, गाइने सम्बन्धी, पाठेघरको मुखको क्यान्सर (भिआइए) परीक्षण र नााक, कान, घाँटीको विशेषज्ञद्धारा क्यान्सर जाँच सेवा उपलब्ध गराइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिना शिविर सञ्चालन गर्ने छ । यसअघि सुदूरपश्चिममा क्यान्सर रोगको जाँच तथा उपचार सेवा उपलब्ध थिएन ।

प्रदेशकै सबैभन्दा ठूलो धनगढीस्थित अस्पताल सेती प्रादेशिकमा दैनिक एक हजार बढी विरामी आउने गरेको अस्पतालको तथ्यांक छ । संघीय सरकारले हालै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) तयार गरेर सातवटै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा विस्तार गरेको हो ।

क्यान्सरको राष्ट्रिय रणनीति अनुसार संघीय सरकारले प्रदेशका प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि–२०८१ समेत पारित गरेर सेवा सुरु गरेको हो । प्रदेशकै अस्पतालमा क्यान्सर रोग निदान सेवा उपलब्ध भएपछि यस क्षेत्रका विरामीलाई संघीय राजधानी काठमाडौं तथा चितवन धाउनुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।