नेपाली टोलीको खराब प्रदर्शन, क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि पराजित

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

काठमाडौँ- क्याडना भ्रमणमा रहेको नेपाली टोलीको खराब प्रदर्शनको श्रृंखला जारी राखेको छ। 

आइसीसी लिग–२ अन्तर्गतको सिरिजमा ओमन–क्यानडाविरुद्धको सिरिजमा नेपाल जितविहीन बन्न पुग्यो। त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि नेपाल राम्रो प्रदर्शन गर्न सकेन।

अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसीय सिरिज खेलिरहेको छ। क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो।

उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन। हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १४३ रनमा समेटिन पुग्यो।

अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो। हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए।

जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे। नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए।

हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए। नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो।