उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

कात्तिक १२ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । समाजवादी मोर्चामा आवद्ध एकीकृत समाजवादी यसअघिका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर निर्वाचनमा गएको थियो ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अर्को महिना हुने उपचुनावमा एक्लै प्रतिस्पर्धा गर्ने उल्लेख गरे । “केही ठाउँमा हामीले उम्मेदवार नै तय गरिसकेका छौँ, अरु ठाउँमा पनि गर्दै छौँ । यो उपनिर्वाचनमा हामी एक्लै लड्छौँ,” अध्यक्ष नेपालले भने ।

नेपालको राजनीतिक समीकरण पूर्वानुमान गर्न नसक्ने गरी बदलिने उनको टिप्पणी छ । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “नेपालको राजनीतिक समीकरण यहाँको मौसम जस्तै पूर्वानुमान गर्न कठिन छ । हाम्रो सत्तातिर ध्यान छैन । पार्टी बनाउने हो ।” भ्रष्टाचार उन्मूलन र सुशासनमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

सहकारीहरुको अनुगमन प्रणालीलाई बलियो बनाउँदै दोषीलाई कारबाही गर्नुपर्ने उनको धारणा छ । “पोखरामै सहकारी ठगीमा ठूला मान्छेहरु पक्राउ परेका छन् । सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ,” उनले थपे, “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोष कोही नफसून् भन्ने हाम्रो धारणा प्रष्ट छ ।”

अहिले समाजवादी मोर्चा नै अघि बढ्ने उल्लेख गर्दै उनले कुनै पार्टीसँग तत्काल एकीकरणको तयारी नरहेको उनले प्रष्ट गरे । दशौं महाधिवेशनपछि अब जिल्ला र प्रदेशका अधिवेशन गर्दै पार्टीलाई सुदृढ बनाउन लाग्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे । समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कास्की सचिव भीम थापाले पनि बोलेका थिए ।