प्रधानमन्त्री ओलीले एनपिएलका आठ मार्की खेलाडीको गरे पालैपालो प्रशंसा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का आठ जना मार्की खेलाडीको प्रशंसा गरेका छन्।
सोमबार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको प्रशंसा गरेका हुन्।
उनले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए। क्रिकेट खेल मात्र नभइ राष्ट्रिय जागरुकता र अनुशासनको प्रतिक पनि बनेको ओलीको भनाइ थियो।
जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखको खेल भावना सम्झिँदै प्रधानमन्त्री ओलीले आसिफले आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको भाइरल भिडिओ आफूले पनि हेरेको बताए।
उनले काठमाडौं गोर्खाजका मार्की खेलाडी करण केसीलाई भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको बताएका थिए।
पोखरा एभेन्जर्सका कुशल भुर्तेललाई आजकाल बलर हुन् की ब्याटर छुट्याउन गाह्रो हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ थियो। ओलीले भुर्तेललाई शुभकामना दिँदै भने, ‘यसपटक ९९ रनमा आउट हुन नपरोस्। शतक हान्नु भन्ने मेरो शुभकामना छ।’
चितवन राइनोजका कुशल मल्ललाई हेर्दा सानो जस्तो लाग्ने बताएका ओलीले उनको ज्यानमा तागत बोकेर छक्का हान्ने शैली मन पर्ने भन्दै प्रशंसा गरे।
लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि आफूलाई गर्व लाग्ने ओलीको भनाइ थियो। ‘रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ,’ उनले भने।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्राण्ड एम्बासडर भएको ओलीको भनाइ थियो। अस्ट्रेलियाको बिबिएलदेखि भारतको आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको ओलीको भनाइ थियो। उनले भने, ‘त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ।’
कर्णाली याक्सका सोमपाल कामीको योर्करलाई भुल्न नसक्ने उनको भनाइ थियो।
सुदूरपश्चिम याक्सका दीपेन्द्रसिंह ऐरीको प्रशंसा गर्दै ओलीले अघि भने, ‘अन्तिममा हिरोको पालो आउँछ। मेरो फेब्रेट नै भनौँ। नेपाली क्रिकेटका बाघ दिपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान स्मरण छ। एनपिएलमा यस्ता धेरै कीर्तिमान बनुन्। सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ।’
तपाईको प्रतिक्रिया