एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको ब्याटिङ
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ रोजेका हुन् ।
दुवै टोलीले पछिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् । सुदूरपश्चिमले जनकपुरलाई क्वालिफायर १ मा र जनकपुरले कर्णाली याक्सलाई क्वालिफायर २ मा पराजित गरी फाइनलमा पुगेका थिए ।
सुदूरपश्चिमले यसै प्रतियोगितामा जनकपुरलाई दुई पटक पराजित गरी फाइनलमा पुगेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरपश्चिमलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भएको थियो । यो स्कोर एनपीएलकै न्यून स्कोरमा रह्यो ।
जनकपुरलाई क्वालिफायर १ मा ८ विकेटले सहजै पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो । जनकपुरलाई १३९–९ को स्कोरमा रोकेपछि सुदूरपश्चिमले भेट्रान ओपनर विनोद भण्डारीको अविजित ५८ रनमा ९ बलअगाडि नै १ सय ४१ रन बनाउँदै फाइनल पुगेको थियो ।
जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पारी सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले अलराउन्ड प्रदर्शन गर्दै जनकपुरलाई फाइनलमा पुर्याएका थिए । उनले २ विकेट लिएपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १८ रन बनाएको थियो । निसमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरले एक ओभर अगाडि लक्ष्य पूरा गरेको थियो ।
सुदूरपश्चिमले फाइनल पुग्ने क्रममा ८ मध्येको ७ खेल जितेको थियो । जनकपुरले ९ मध्येको ६ खेल जितेको थियो भने ३ मा पराजय भोगेको थियो, त्यसमध्येको दुई पराजय सुदूरपश्चिमसँगै थियो ।
तपाईको प्रतिक्रिया