कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ

आइतबार पौष ७, २०८१/ Sunday 12-22-24
Paschim Today

धनगढीः कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन्। सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले ५४९ दशमलव २ सय ग्राम सुन जस्तै देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट सुनसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख ९एसपी० पदमबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० फेला पारेको छ। गाडीका चालक भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले शंका लागेपछि गाडी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सुन जस्तो देखिने वस्तु, नगद र ल्यापटपसहित गाडी र सो गाडीमा सवारी दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ। बरामद गरिएको वस्तु सुन होकी होइन भन्ने विषयमा चेकजाँचपछि मात्र थाहा हुने बताइएको छ।