माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

सोमबार पौष ८, २०८१/ Monday 12-23-24
Paschim Today

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ । आज (सोमबार) सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो । बैठकमा मोदीले भने, ‘सभापतिज्यू माथि प्रश्न छ । सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ ।’

सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ । यस्तै बैठकमा सांसद मोदीले लेखा समितिको बैठक धेरै समय पछि बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘चेक एण्ड ब्यालेन्सको कुरा गर्दा लेखा समितिले हेर्छ । तर, तपाईंको पार्टी सरकारमा छ । लेखा समिति सरकारको छायाँ बन्ने हो । सारमा यसको बारेमा पुनर बिचार गर्दा राम्रो ।’ सांसद मोदीले सभापति पोखरेलले मार्ग प्रशस्त गरेर चेक एण्ड ब्यालेन्स गर्नुपर्ने बताएका छन् ।

४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए । उमागौरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन् । त्यसैले माओवादी केन्द्रले लेखा समिति सभापति पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै राजीनामा माग्दै आएको छ ।