‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट २३ हजारले लिए सेवा

सोमबार माघ ७, २०८१/ Monday 01-20-25
Paschim Today

कैलालीको धनगढी उपमहानगरपालिकाको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट २३ हजार नौ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा उक्त उनीहरुले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् । 

वडा स्वास्थ्य क्लिनिकबाट १७ हजार ६ सय ८५ महिला र ६ हजार दुई सय ८२ पुरुषले स्वास्थ्य सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । सो अवधिमा १३ हजार तीन सय ५३ जनाले जनरल फिजिसियनबाट, चार हजार पाँच सय २६ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ६ हजार ८८ जनाले आँखाको रोगसम्बन्धी निःशुल्क सेवा लिएका थिए । सेवा लिनेमा चार हजार तीन सय २० जना ७० वर्षभन्दा माथिको उमेर समूहका रहेका छन् ।

स्वास्थ्य क्लिनिकमा बिरामीको निःशुल्क जाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको प्रमुख अवस्थीले बताए ।