खोज पत्रकारिता गर्न पत्रकारहरूलाई एमाले नेता भट्टको सुझाव, तीन जनालाई सम्मान
धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पत्रकारहरूले अब खोज पत्रकारितालाई अगाडी बढाउनु पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको २७औँ स्थापना दिवसको अवसरमा कैलालीले धनगढीमा आयोजना गरेको प्रेस र पार्टीको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका भट्टले समाजमा देखिएका भन्दा पनि लुकेका विषयवस्तुहरू उठान गर्नेगरि पत्रकारितालाई अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।
पत्रकार समाजले अध्ययनशील र उत्सुकता भएको व्यक्ति बताउँदै भट्टले खोज पत्रकारिता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका थिए । पत्रकारले गर्ने खोज पत्रकारिता विकृति विस्थापित गर्नेमा केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
उनले सञ्चार माध्यम र पत्रकारले समाजको मनोविज्ञान, आवश्यकता र माग बुझेर वर्तमान परिप्रेक्ष्य सुहाउँदो समाचार सामाग्रीहरू उत्पादन तथा प्रकाशनमा जोड दिनुपर्ने सुझाव समेत दिएका छन् ।
मुलुकमा लोकतन्त्र स्थापनाका लागि राजनीतिक दल र सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भट्टले अहिलेको व्यवस्था जोगाउन पनि भूमिका खेल्नुपर्ने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानाले अहिले केहीले स्टन्टबाजी गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरिरहेको बताए । नेताहरूले केही पनि गरेका छैनन् भन्ने नाममा कुप्रचार गरेर व्यवस्थामाथि प्रश्न उठाउनेहरूप्रति सबै सचेत हुनुपर्ने बताउँदै उनले जनतासामू वास्तविक कुरा सम्प्रेषण गरेर भ्रम चिर्ने भूमिका सञ्चारकर्मीको भएको बताए ।
यस्तै, एमाले पोलिटब्युरो सदस्य लीला भण्डारीले दलहरुविरुद्ध भ्रम फैलाएर हल्लाका भरमा स्थापित भएका शक्तिले समाजमा गरिरहेको कुप्रचार चिर्नु सञ्चार माध्यमको दायित्व भएको बताइन् ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोष थापा शर्माले सञ्चार माध्यमले वास्तविक सूचना सम्प्रेषण गर्नुपर्ने सुझाव दिइन् । तथ्य नबुझेर सम्प्रेषण गरिने कुराले भ्रम सिर्जना हुने भएकाले पत्रकारले सचेत भएर तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनले बताइन् ।
अर्का केन्द्रीय सदस्य गौरीशङ्कर चौधरीले पनि सञ्चारकर्मीले नकारात्मक मात्र नभएर सकारात्मक कुरालाई पनि सम्प्रेषण गर्नुपर्ने सुझाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले पत्रकारले आफ्नो व्यावसायिक मर्यादाभित्र रहेर राजनीतिक दल तथा सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।
तर, दलहरू र सरकारले गरेका राम्रा कार्यलाई समेत उजागर गर्नुपर्ने सुझाव उनको थियो । प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिंह विष्टको अध्यक्षतामा आयोजित अन्तर संवाद विषयक अन्तरक्रियामा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि थिए ।
अन्तरक्रियामा सहभागी विभिन्न सञ्चार माध्यममा क्रियाशील प्रेस चौतारी निकट पत्रकारहरूले राजनीतिक दल र सबै तहका सरकारले पत्रकारहरूको पेसागत सुरक्षा गर्दै व्यावसायिकता प्रवद्र्धनमा सघाउनुपर्ने सुझाव दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा एमालेको प्रचार तथा प्रकाशन विभाग सदस्य हेमन्त पौडेल, प्रदेश प्रचार तथा प्रकाशन विभाग उपप्रमुख मातृका तिमिल्सिना, कैलाली अध्यक्ष यज्ञराज ढुङ्गाना, उपाध्यक्ष लोकेन्द्रबहादुर शाही, उपसचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चूडामणि भट्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य श्याम भट्ट, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशील ढुङ्गाना, केन्द्रीय सदस्य दिलबहादुर छत्याल, चौतारीका नेताहरू एकिन्द्र तिमिल्सिना, गोविन्द रोस्यारा, हरि जोशी, विभिन्न जनसङ्गठनका केन्द्रीय स्तरका नेता, प्रमुख तथा प्रतिनिधिहरू पनि सहभागी थिए ।
एमाले प्रचार तथा प्रकाशन विभागको समन्वयमा आयोजना गरिएको कार्यक्रमको विषयवस्तुमाथि विभाग प्रमुख चूडामणि भट्टले प्रकाश पारेका थिए भने प्रेस चौतारी कैलालीका उपाध्यक्ष लोकुसिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए । प्रेस चौतारी नेपालले हरेक वर्ष २२ माघलाई स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।
३ जनालाई सम्मान
यसैबिच नेपाल पत्रकार महासङ्घका तीन जना संस्थापकलाई प्रेस चौतारी नेपाल कैलालीले सम्मान गरेको छ । तत्कालीन नेपाल पत्रकार सङ्घ कैलालीको संस्थापक सचिव भएर काम गरेका हरिलाल गिरी, संस्थापक सहसचिव लोकराज भट्ट र संस्थापक सदस्य धर्मराज पाठकलाई स्थापना दिवसको अवसरमा प्रेस चौतारीले सम्मान गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा तीनै जनालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रशंसा तथा सम्मान पत्र प्रदान गरे ।
प्रेस चौतारीले २०५० को दशकताका मिसन पत्रकारिता मार्फत पत्रकारिताको विकास र सङ्गठन निर्माणको आधार तयार पार्न खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको जनाएको छ । हाल नेकपा एमालेमै क्रियाशील रहेका उनीहरु तीनै जना तत्कालीन पत्रकार सङ्घका संस्थापक थिए ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष जनक सिंह विष्टले पत्रकारिताको विकास, पत्रकार महासङ्घको गठन र जिल्लामा प्रेस चौतारीको सङ्गठन निर्माणको आधार तयार गर्न भूमिका खेलेका कारण उनीहरूलाई सम्मान गरिएको बताए ।
उनकाअनुसार उनीहरुले मिसन पत्रकारितामार्फत समाजलाई सुसूचित बनाउने काम गरेपनि प्रेस चौतारी नेपालले सङ्गठनभित्र अहिलेसम्म समेट्न सकेको थिएन । सोही कारण पनि सङ्गठनले उनीहरुको योगदानको कदर गर्दै सम्मान गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया