धनगढी उपमहानगरले तीर्‍यो १ लाख ९० हजार जरिवाना

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १ लाख ९० हजार जरिवाना तिरेको छ । उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका – ९ सेहरीबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेपछि जरिवाना तिराइएको हो ।

माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला पारेको थियो ।
सो क्रममा अनुगमन टोलीले अन्य २१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको थियो ।

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार जरिवाना गराइएको बताए । उनले ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना गराइएको बताए ।