धनगढीमा भीम रावलले भने प्रधानमन्त्री ओलीले फेरी तानाशाही चरित्र देखाए

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

कैलाली । मातृभूमि जागरण अभियानकाका सञ्चालक डा। भीम रावलले आफू अहिले मातृभूमि जागरण अभियानको अध्यक्ष वा नेता नरहेको बताएका छन् ।

धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले अहिले विभिन्न व्यक्तिहरूसँग छलफल र संवाद भइरहेको भन्दै केही समय पछि अभियानलाई दलको रूपमा अगाडी बढाउने रावलले बताएका थिए ।

‘अहिले थुप्रै सङ्गठित व्यक्तिहरूसँग मेरो वार्ता जारी छ । थुप्रै क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग पनि हामीले कुराकानी जारी राखेका छौँ त्यही भएर हामी केन्द्रमा केही व्यक्तिहरू जम्मा भएर हाम्रो पार्टी यस्तो भयो, यस्तो पद भयो भन्ने कुरा त्यो सङ्गठन निर्माणको राम्रो कुरा होइन’ उनले भने ‘म मातृभूमि जागरण अभियानमा कुनै नेता हुँ अध्यक्ष हुँ पनि भनेको छैन । म प्रस्तावक मात्रै भन्नुको तात्पर्य के हो भने तल जिल्लाहरूमा मानिसहरूलाई नेतृत्वमा सङ्गठित गर्न लागिरहेका छौँ ।’

केन्द्रमा थुप्रै मान्छेहरूसँग कुराकानी भइरहेको भन्दै ती छलफल र वार्ता पछि मात्रै सङ्गठित केन्द्रीय स्वरूप दिने र त्यही केन्द्रीय स्वरूपलाई राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने योजना रहेको उनले सुनाए ।

उनले सबै वर्ग र समुदायलाई आफ्नो अभियानमा जोडिन आग्रह गर्दै भ्रष्ट्राचारमा मुछिएका व्यक्ति, राष्ट्ररहित विपरीत रहेका व्यक्ति र समाजमा गलत छाप भएकाहरूसँग सहकार्य हुन नसक्ने बताएका थिए ।

डा।रावलले वर्तमान गठबन्धनको सरकारको समेत औचित्य नभइको टिप्पणी गरेका थिए । संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले–कांग्रेसले जनतासँग झुटो बोलेको उनको भनाइ थियो ।

‘अहिले राष्ट्रियसभामा बहुमत छैन भनेर पन्छिन खोजिएको छ’ उनले भने, ‘त्यो कुरा दुई दललाई गठबन्धन गर्दा थाहा थिएन र ?’ स्थिर सरकारको लागि भन्दै दुई दलले गठबन्धन गरेर आधा कार्यकाल बढ्ने सम्झौता गरेर सम्झौता मै अस्थिर सरकार बनाएको उनको आरोप थियो ।

अर्को प्रसङ्गमा रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासन गर्न खोजेर फेरी तानाशाही चरित्र देखिएको बताए ।

’ओलीको तानाशाही चरित्र फेरि एक पटक छर्लङ्ग भएको छ,’ उनले भने, ’अघिल्लो कार्यकालमा एकपछि अर्को अध्यादेश ल्याएका थिए । अहिले पनि सोही बाटोमा ओली लागेका छन् । यस पटक त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी अध्यादेश ल्याउने कुरा सुनिएको छ ।’

रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने जानकारी दिएका छन् । ‘कैलाली र कञ्चनपुरको जागरण अभियान शनिवार आयोजना गरेका छौँ’ उनले भने, ‘भेलामा जुनसुकै पार्टीमा आबद्ध रहेका देशभक्त नागरिक लागि उपस्थितिका लागि आह्वान गर्दछु । ’