नेता कलौनीको मुटु परीक्षणका लागि टेकु पठाइयो

बिहीबार माघ २४, २०८१/ Thursday 02-06-25
Paschim Today

धनगढी । कञ्चनपुरका कांग्रेस नेता अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । भिसेरा परीक्षणका लागि नेपालगन्जस्थित प्रहरीको विधिविज्ञान प्रयोगशाला र मुटु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको उहाँले जानकारी दिए । मुटु र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

कांग्रेसको भीमदत्त नगर सभापति कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा मृत अवस्थामा फेला परेका थिए। उनको शव घोप्टो परेको अवस्थामा थियो । कलौनीको मृत्यु प्रकरणमा अनुसन्धान कार्यमा सहजताका लागि नेपालगन्जबाट आएको चिकित्सकको प्राविधिक टोलीले पोस्टमार्टम गरेको थियो ।

पोस्टमार्टम रिपोर्टमा बाहिरी र भित्री चोट नदेखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो । “मुटुमा अक्लुजन देखिएको रिपोर्ट आएको छ” उनले भने ।