नेता कार्यकर्ताहरूलाई आरजुको निर्देशन– फेसबुकमा नकारात्मक लाइक सेयर नगर्नुहोला, सबैको म हेर्छु
‘ विपिन रिहाइको प्रयास भइरहेको छ, सकुशल फर्किनुहुने छ ’
कैलाली।
नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले कांग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र सेयरमा ध्यान दिन भनेकी छन् ।
‘फेसबुकको लाइक सेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’ उनले भनिन्, ‘कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ । ’
पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘देशमा केही नभएको होइन धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गइरहेको छ। ’
हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रयास गरिरहेको उनले बताइन् । परराष्ट्र मन्त्री राणाले सरकारले विपिनको रिहाइका लागि सक्दो प्रयास भइरहेको भन्दै उनी सकुशल फर्किनेमा आफू आशावादी रहेको बताएकी छन् । रिहाइको लागि सबै क्षेत्रबाट प्रयास भइरहेको उनको भनाइ थियो । ‘विपिन जोशीको रिहाइको लागि हामीले सबैतिरबाट प्रयास गरिरहेका छौ । हाम्रो चाहाना विपिन सकुशल फर्केर आउन् भन्ने हो ’ उनले कार्यक्रममा भनिन्, ‘भाग्यमा पनि भर पर्छ, भगवानमा पनि भर पर्छ । उहाँ हुनुहुन्छ भने उहाँ आउनु हुन्छ । हामीले कुनै पनि कसर बाकी राखेका छैनौ ।
आफूले इरानको परराष्ट्र मन्त्रीसँग कुरा गरेको र हमाससँगको मिटिङमा विपिनको विषयमा पनि कुरा राख्ने आश्वासन पाएको बताइन् ।
अहिले मुलुकमा आत्महत्याको दर बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न ठुलो चुनौती रहेको उनको भनाइ थियो । उनले प्रत्येक वर्ष ६ हजारले आत्महत्या गर्ने गरेको बताइन् । नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताइन् ।
‘देशको जनताले प्रजातन्त्र र लोकतन्त्रलाई विश्वास गरेको छ । यहि विश्वासले यो देशलाई यहाँ सम्म पुराएको हो । अहिले भूराजनीति हेर्दा विश्वसामु समस्या आउन सक्छ’ उनले भनिन्,‘यसमा नेपाली कांग्रेसको नेतृत्व एकदमै महत्त्वपूर्ण । हाम्रो देशको लागि र सबैको लागि । ’
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा जिल्लाभरका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया