बैतडीका सात पालिकामा ९ हजार बढी किशोरीलाई एचपीभी खोप

मंगलबार माघ २९, २०८१/ Tuesday 02-11-25
Paschim Today

बैतडी : बैतडीका सातओटा पालिकामा एचपीभी खोप अभियान सम्पन्न भएको छ । १० ओटा पालिकामध्ये सातओटा खोप अभियान सम्पन्न भएको र बाँकी तीन पालिकामा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।  

पाठेघरको मुखको क्यान्सरविरुद्ध देशभरजस्तै बैतडीमा पनि खोप अभियान सञ्चालनमा रहेको छ । उक्त अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका किशोरीहरुलाई खोप दिइएको छ । 

दशरथचन्द नगरपालिकामा १ हजार ४७८, पाटन नगरपालिकामा १ हजार ५९८, पुर्चौंडी नगरपालिकामा २ हजार १५६, पञ्चेश्वर गाउँपालिकामा ९ सय ३५, शिवनाथ गाउँपालिकामा ९ सय ९४, सिगास गाउँपालिकामा १ हजार १६३ र दोगडाकेदार गाउँपालिकामा १ हजार ६७ जनालाई किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

जिल्लाको मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकामा खोप लगाउने कार्य जारी रहेको छ । सातओटा पालिकाका ९ हजार ३ सय ९१ जना किशोरीहरुलाई खोप लगाइएको भट्टले बताए । 

जिल्लाभरीका १३ हजार ५६४ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लामा फागुन १ गतेसम्म अभियान जारी रहने सूचना अधिकारी लेखकले बताए ।