सांसद र मन्त्रीको प्राथमिकतामा परेन प्रजातन्त्र दिवस

कांग्रेस र नाउपाका कुनै मन्त्री आएनन्, सांसदको पनि झिनो उपस्थिति

बुधबार फागुन ७, २०८१/ Wednesday 02-19-25
Paschim Today

भानुभक्त आचार्य

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार राष्ट्रिय प्रजातन्त्र दिवस भव्य समारोहकाबीच मनाएको छ । 
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय भएको कार्यक्रममा अध्यक्षता सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए । प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँ थिए । 
प्रदेश सरकारले नै मनाएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री र सांसदहरूको भने झिनो उपस्थिति रहेको थियो । सभामुख भीम भण्डारी कार्यक्रममा सहभागी हुँदा उपसभामुख कोइली देवी चौधरी देखिइनन् । 
एमालेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा र अन्तरिक मामिला मन्त्री सहभागी हुँदा कांग्रेस र नागरिक उन्मुक्ति पार्टी कुनै पनि मन्त्री र राज्यमन्त्री कार्यक्रममा सहभागी भएनन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको तर्फबाट आर्थिक मामिला मन्त्री बहादुर थापा, सामाजिक विकास मन्त्री  मेघराज खड्का सहभागी छन् । उनीहरु दुबै मन्त्री कार्यक्रममा आएनन् । त्यस्तै कांग्रेसको तर्फबाट अर्थ राज्यमन्त्री भएका प्रकाश बम र  सामाजिक राज्यमन्त्री भएकी सरस्वती खड्का पनि कार्यक्रममा आइनन् ।
काङ्ग्रेसबाट मुख्यमन्त्री भएका शाहकै अध्यक्षतामा आयोजना भएको प्रदेश सरकारको कार्यक्रममा काङ्ग्रेसकै सबै मन्त्री अनुपस्थितिको विषयले अहिले चर्चा पाएको छ । मुख्यमन्त्री निकट स्रोतले भने मन्त्रीहरूको अन्य कार्यक्रम भएको हुँदा प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित हुन नसकेको जनाएको छ ।
‘सामाजिक विकास मन्त्री  ज्यू अछामको कार्यक्रममा र राज्यमन्त्री ज्यू डडेल्धुराको कार्यक्रममा हुनुहुन्छ ’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने, ‘अर्थमन्त्री ज्यूको बुवा बिरामी र अर्थ राज्यमन्त्री ज्यू आफै बिरामी भएको हुँदा आउन नसक्नु भएको हो । ’

कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद पनि आइनन् । उनले आफू जिल्लाको कार्यक्रमको लागि डोटी आएको हुँदा कार्यक्रममा उपस्थित हुन नसकेको बताइन् 

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी पनि सरकारमा छन् । तर, उनी पनि कार्यक्रममा आएनन् । ‘म काठमाडौँबाट ढिलो आए त्यहि भएर कार्यक्रममा पुग्न सकिन ’ उनले भने ।
सुदूरपश्चिम सरकारका मन्त्री मात्रै होइन कार्यक्रममा प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति निकै कमजोर रहेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेकोमध्ये कार्यक्रममा चार सांसद मात्रै थिए ।  पाँच वटा विषयगत समिति मध्ये एक जना मात्रै सभापति कार्यक्रममा उपस्थित थिए । 

५३ जना मध्ये विशेषाधिकार समिति सभापति समेत रहेकी कांग्रेस सांसद तुलसी देवकोटा, एमालेकी जानकी ऐर बम , माओवादी जानकी देवी कुवर कार्यक्रममा उपस्थित थिइन् । ढिलो गरेर एमाले सांसद दमन भण्डारी पनि कार्यक्रममा उपस्थित भएका थिए । 

पूर्व मुख्यमन्त्री मध्ये राजेन्द्रसिंह रावल मात्रै कार्यक्रममा थिए । दीर्घ सोडारी र त्रिलोचन भट्ट कार्यक्रममा आएनन् । कार्यक्रममा जनप्रतिनिधि भन्दा कर्मचारीको संख्या निकै बढि थियो ।
प्रजातन्त्र स्थापनाको अवसर प्रदेशमा आयोजना गरिएको महत्त्वपूर्ण कार्यक्रममा सरकारकै अधिकांश मन्त्री र सांसद उपस्थित नभएपछि अहिले मन्त्री र सांसदले प्रजातन्त्र दिवसलाई महत्त्व नदिएका हुन् कि भन्ने विषय पनि उठ्न थालेको छ ।

‘प्रतिपक्षको कुनै नेता देखिएन । हतारिएर दिवस मनाउनु हुँदैन’ नेकपा एमाले संसदीय दला नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल भन्छन्, ‘प्रभात फेरि गरेर कर्मचारी जम्मा भएर पुरानै पञ्चायती ढङ्गको कार्यक्रम गर्नु हुँदैन । सहिदहरूको स्मरण गर्नु पर्ने थियो । आज ती विषयहरू खड्किएका थिए । ’
उनले कार्यक्रममा सरकारको तर्फबाट पर्याप्त मन्त्रीहरूको उपस्थित नहुँदा र सांसदहरू पनि पर्याप्त नआउँदा प्रजातन्त्र दिवसलाई महत्त्व नदिएको झल्को देखिएको बताए ।  

‘सूचना नपाउँदा वा अन्य कार्यक्रमले गर्दा पनि उपस्थिति कम भएको हुनसक्छ’ उनले भने ‘मुख्यमन्त्री नै अध्यक्षता ग्रहण गर्ने कार्यक्रमलाई अझै तयारी गरेर, छलफल गरेर गर्नु पर्छ । ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रीहरूलाई समयमै जानकारी गराएको जनाएको छ ।

‘बिहानको कार्यक्रममा सबै मन्त्री ज्यूहरूलाई निमन्त्रणा गरिएको थियो ।  राज्यमन्त्री ज्यूहरूलाई पनि जानकारी गराएर निमन्त्रण गरेका थियौँ तर, उहाँहरूको उपस्थिति निकै कम देखियो ’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले भने, ‘प्रदेश सभा सदस्य ज्यूहरूलाई कार्यक्रममा उपस्थित गराइदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थियौँ ।

प्रदेश सभा सचिवालयले पनि सबै सांसदहरूलाई समयै जानकारी गराइएको बताएको छ । ‘सबै सांसदहरूलाई एसएमएस  मार्फत जानकारी गराउन भनेको थिए’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने ।

मुख्यमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन मूल आयोजक समिति गठन गरिएको थियो । सभामुख, उपसभामुख, सबै मन्त्री , राज्यमन्त्री र प्रदेश सभा सदस्य त्यसको सदस्य थिए । तर, बुधबारको कार्यक्रममा अधिकांश सदस्य नै उपस्थित भएनन् ।