ट्रम्पको अभिव्यक्तिप्रति बास्कोटाको टिप्पणी : हेप्नुको पनि सीमा हुन्छ

काठमाडौँ। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यूएसएडमार्फत भएको खर्चलाई ‘फ्रड’ भनिँदा नेपालको छविमाथि गहिरो चोट लागेको बताए ।
‘हेप्नुको पनि सीमा हुन्छ सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो –आफ्ना एजेन्सी, दूतावस, एजेन्सीमार्फत । हामीले त्यसलाई स्वीकार गर्यौं’, उनले भने, ‘तर, आज हामी फ्रड बनेका छौँ, बनाइएका छौँ। उल्टो प्रहार हामीमाथि सुरु भएको छ, जसले नेपालको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच लागेको छ । गहिरो चोट लागेको छ ।’
राष्ट्रिय भावनामा चोट पुर्याएको उनको भनाइ छ । ‘सहयोग दिनुभयो, हामीले लियौँ । त्यसको मनिटरिङ कसले गर्न पाउनु पथ्र्यो, किन भएन ? जसले सहयोग दियो, उहाँहरूको पनि जनताको करको पैसा आएको होला । त्यो फ्रड हामीले गरेको हो कि फ्रड स्वीकृत गर्ने काम उहाँहरूले गरेको ?’, बास्कोटाको प्रश्न छ ।
अब सहयोगको सीमा स्पष्ट पारिनुपर्नेमा उनले जोड दिए । ‘हामी कुन सहयोग लिन्छौँ, कुन लिँदैनौँ दृढतापूर्वक भन्नु पर्दछ । ती सहयोगले परिणाममा के फरक पार्छ भन्ने कुरा आउनुपर्यो । जे पायो त्यही स्वीकार गर्ने कुरा हुँदैन’, उनले भने ।
तपाईको प्रतिक्रिया