सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
प्रजिअ गोगन हमालले भने, सूचना प्रविधिको दुरुपयोग गर्ने र धम्क्याउनेमाथि कारबाही हुन्छ

धनगढी, ११ फागुन ।
पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरुले धम्क्याएपछि पत्रकार दीर्घराज उपाध्यायले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् ।
उपाध्यायद्धारा धनगढीका नागरिकहरुका तर्फबाट आएका गुनासाहरुको उठान गर्दै पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा २०८१ फागुन ५ गते सोमवार ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मंगलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाटी निमोठे विस्थापितहरु भन्छन्,बाँच्न गाह्रो भयो, वीष खान पैसा छैन’ शीर्षकमा र सोही दिन पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता भाग २’ शीर्षकमा समाचार लेखेका थिए ।
विकासका नाममा मुआब्जा बिना नै विस्थापित भएका र हमालको नीति र प्रतिशोधबाट प्रभावित ११ हजार भन्दा व्यक्तिले ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ पहिलो भाग र ५ हजार हजार भन्दा बढि व्यक्तिले दोस्रो भाग सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
दुई भाग प्रकाशित भएपछि हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको माग गर्दै आईतवार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई निवेदन दिएका हुन् ।
मेयर हमालका समर्थकहरुले फेक आईडी र व्यक्तिगत फेसबुक आईडीबाट पत्रकार उपाध्यायलाई धम्क्याउन थालेपछि उनले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी दिएका हुन् ।
नेपाल पत्रकार महासंघ सुदूर पश्चिम समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले समाचार लेखेकै कारण पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिने र समग्र पत्रकारिता क्षेत्रमाथि नै धावा बोल्ने कार्य लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी भएको बताए ।
महासंघका अध्यक्ष शाहले पत्रकार उपाध्यायको सुरक्षा र सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा लक्षित गरी धम्क्याउने र मानसिक तनाव दिने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
समाचार लेखेकै भरमा धम्क्याउने र मानसिक तनाव दिने कार्य कानूनको बर्खिलाप हो, प्रमुख जिल्ला अधिकारी गोगन हमालले भने, यो कानूनी राज्य हो । यहाँ बिधिको शासन छ । सामाजिक सञ्जालको दुरुयोग गर्दै धम्क्याउने, अनर्गल भ्रम फैलाउने र मानसिक तनाव दिने व्यक्तिलाई कानूनको दायरामा ल्याउने छु ।
उनले सूचना प्रविधिको दुरुपयोग गरी धम्क्याउने, अनर्गल भ्रम फैलाउने र मानसिक तनाव दिने कार्यले विद्युतीय कानून (साईवर ल) अनुसार कारवाही प्रकृया अघि बढाईने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, कैलालीका अध्यक्ष श्रवण देउवा, पूर्व अध्यक्ष हिमाल जोशी लगायतका पत्रकारहरुले पत्रकारिता क्षेत्रमाथि भईरहेका आक्रमण रोक्न र पत्रकारहरुको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न प्रमुख जिल्ला अधिकारी गोगन हमालसंग आग्रह गरे ।
तपाईको प्रतिक्रिया