पत्रकारलाई धम्क्याउने कार्य बन्द गर–महासंघ

आइतबार फागुन ११, २०८१/ Sunday 02-23-25
Paschim Today

धनगढी, ११ फागुन
पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरुले धम्क्याएको घट्नामा नेपाल पत्रकार महासंघले बिरोध गरेको छ ।

नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष तेजराज भट्टले आईतवार बिज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घट्नाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् ।

कुनैपनि समाचार र लेखका बारेमा चित्त नबुझेमा कानूनी उपचारका थुप्रै उपायहरु हुदाहुदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासंघ निन्दा गर्दछ, महासंघको सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र महासंघ कैलालीका सचिव तेजराज भट्टद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, त्यसैले धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरुको सुरक्षाका लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।

उपाध्यायद्धारा धनगढीका नागरिकहरुका तर्फबाट आएका गुनासाहरुको उठान गर्दै पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा २०८१ फागुन ५ गते सोमवार ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मंगलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाटी निमोठे विस्थापितहरु भन्छन्,बाँच्न गाह्रो भयो, वीष खान पैसा छैन’ शीर्षकमा र सोही दिन पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता भाग २’ शीर्षकमा समाचार लेखेका थिए ।

विकासका नाममा मुआब्जा बिना नै विस्थापित भएका र हमालको नीति र प्रतिशोधबाट प्रभावित ११ हजार भन्दा व्यक्तिले ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ पहिलो भाग र ५ हजार हजार भन्दा बढि व्यक्तिले दोस्रो भाग सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

दुई भाग प्रकाशित भएपछि हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा अशिष्ट, अभद्र र आपत्तीजनक भाषा प्रयोग गर्दै धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली, सुदूर पश्चिम प्रदेश समिति र केन्द्रीय समितिमा निवेदन दिएका थिए ।

उपाध्यायले लेखमार्फत उठाईएका जनताका आवाजलाई सम्बोधन गर्नुको साटो आफूले नबोलेको र आफू संलग्न नभएको विषय उठाएर हमाल पञ्छिएको भन्दै आपत्ती जनाए ।  उपाध्यायले हमाललाई आरोप प्रमाणित गर्न चुनौती दिए ।