एक वर्षपछि माओवादी संसदीय दलको छलफल: नेता फेर्नुअघि ‘इन्चार्ज’ परिवर्तनको शर्त

कैलाली । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक दिएको लिखित तथा मौखिक निर्देशन कार्यान्वयन गर्न पहिलो पटक सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलमा छलफल भएको छ । अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरू भएको थियो । त्यसपछि माओवादी संसदीय दलको बैठक एउटा पक्षले सबै वहिष्कार गरिरह्यो ।
भट्टलाई हटाएर धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना र धामीको पक्षमा ६ सांसद उभिएका थिए ।धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५\५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन् । भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् । दुवै पक्षमा बराबरी भएपछि हेडक्वार्टरको निर्देशन पनि कार्यान्वयन हुन सकेको थिएन ।
यसैबीच आइतबार यो विषय समाधान गर्ने भन्दै माओवादीका सबै सांसद एक ठाउँमा बसे । रमेश धामी बैठकमा आएनन् । अरु सबै सांसदहरू अध्यक्ष प्रचण्डले दिएको निर्देशन कार्यान्वयन गर्ने पक्षमा उभिए । प्रचण्डले भट्टलाई दलको नेता बनाउन लिखित तथा मौखिक निर्देशन दिएका थिए । आइतबार अनौपचारिक छलफलमा आफूहरू अध्यक्षको निर्देशन कार्यान्वयन गर्ने पक्षमा रहेको तर, केही असहमतिका विषयहरू रहेको भन्दै धामीले विषय उठान गरेका थिए ।
‘दलको विषयमा टुङ्गो लगाउनु पर्छ । पहिलो पटक यसरी सबै सबेर सामूहिक छलफल भयो । राम्रो कुरा हो ’ धामीले भने, ‘केन्द्रको सर्कुलर कार्यान्वयन हुनुपर्छ तर, मेरा पनि केही विषयहरू छन् जुन सम्बोधन हुनुपर्छ ।’
धामीले केन्द्रमा पनि जिम्मेवारी भट्टलाई दिँदा आफूले पाउने जिम्मेवारीबारे प्रष्ट हुनुपर्ने भन्दै आइरहेका छन् । आफू संसदीय व्यवस्थाअनुसार चुनिएको दलको नेता भएको भन्दै पहिले आफ्नो व्यवस्थापन भएपछि मात्रै दलको नेता फेरिने अडानमा उनी छन् । आइतबार पनि उनले त्यही संकेत गरेका थिए ।
झपट साउँदले धामीका केही कुराहरूलाई सम्बोधन गर्दै अहिले ५ \५ जना सांसद लिएर कहिँ पुग्न नसकिने बताएका थिए ।
‘केन्द्रको सर्कुलर लागू गरौँ यसरी ५ \५ जना सांसद बोकेर हामी कहीँ पुग्दैनौँ’, उनले भनेका थिए ।
साउँदले अध्यक्ष प्रचण्डसँग यसअघि नै धामीले सिफारिस गरेका व्यक्तिहरू मन्त्री कायम हुने तर, भट्टलाई दलको नेता बनाउने गरी दिएको निर्देशन आफूहरूले मानेपनि धामी समूहले उल्लंघन गरेको बताएका थिए ।
‘त्यो बेला मन्त्री यथावत् राख्ने र दलको नेता फेर्ने सहमति भएको थियो त्यो पनि पूरा भएन’, उनले भने ।
जानकी पौडेल कुवरले साउँदकै कुरालाई समर्थन गरिन् । अक्कल रावलले विधिको कुरा प्रधान हुने टिप्पणी गरे । गीता मालले छलफल र संवादबाट विवाद टुङ्गो लगाउनु पर्नेमा जोड दिइन् ।
माओवादी सांसद ओमविक्रम भाट ‘सरल’ ले संसदीय दलको नेता फेरिने अवस्थामा सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि स्थानीयलाई नै दिनुपर्ने बताए ।
अहिले प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल छन् । धामी पक्षले भने इन्चार्ज पोखरेलबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै इन्चार्ज फेर्नुपर्ने बताउँदै आइरहेको छ ।
भाटले इन्चार्ज फेर्ने विषय आफूले उठान गरे पनि यो धामी पक्षका पाँच सांसदहरूको साझा माग रहेको बताएका थिए । भाटले यसअघि १४ फागुनमा खुमल्टारमा पनि सुदूरपश्चिम प्रदेशको इन्चार्ज विना मगरलाई बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका थिए ।
विनालाई इन्चार्ज बनाउँदा परिवारवादको आरोप लाग्ने अवस्थामा उनले लक्ष्मण जोशी, त्रिलोचन भट्ट वा जगत पार्कीमध्येबाट पनि इन्चार्ज बनाउन सकिने बताएका थिए ।
आइतबारको छलफलमा पनि सरलले सोही प्रस्ताव सारे । स्थानीय इन्चार्ज बनाउनुपर्ने उनको प्रस्तावमा केही सांसदले समर्थन गरेका थिए भने केहीले मौन समर्थन जनाएका थिए । केही सांसदले भने स्थानीय इन्चार्ज बनाउँदा पार्टी र संगठन बलियो हुने तर्क गर्दै संसदीय दलले भने नाम किटान गर्न नहुने बताएका थिए ।
सांसद लक्ष्मी विकले संसदीय दलको विवाद मिलाउन विगतका तिक्ततालाई अगाडि ल्याउन नहुने बताएकी थिइन् । ‘सबैलाई सहज हुनेगरी मिल्नु पर्छ । दीर्घकालीन सहज हुनेगरी विवाद टुङ्गो लगाउनु पर्छ’, उनले भनिन्, ‘पहिलेका कुरा ल्याएर फेरि विवाद गर्नुहुँदैन । ’
खगराज भट्टले केन्द्रको निर्देशन कार्यान्वयन हुनुपर्ने भन्दै आफूले आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता गरेका थिए । प्रदेशसभाको एक वर्ष भट्ट नै दलको नेता थिए । पहिलो पटक सरकारमा जाँदा आफै गएको, सबै सांसदहरूसँग छलफल नगरेको, प्रतिपक्ष हुँदा पनि कमजोर भएको लगायतका आरोप उनीमाथि लाग्दै आइरहेको थियो । आइतबार विगतका आफ्नो केही कमजोरी स्वीकार गर्दै आगामी दिनमा पार्टी र संसद् दुवैलाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए ।
करिब एक वर्षपछि एकताको सन्देश दिनेगरी भएको अनौपचारिक छलफलमा माओवादीभित्रको विवाद मिलाउने, संसद्मा प्रमुख प्रतिपक्षको भूमिका बलियो बनाउने र केन्द्रको सर्कुलर कार्यान्वयन गर्ने विषयमा करिब सहमति जुटेको छ । तर, धामी पक्षले आफ्नो बटमलाइन बनाएको इन्चार्ज फेर्ने विषयले भने दलको नेता फेर्ने विषय पनि पेचिलो नै बनेको छ ।
तपाईको प्रतिक्रिया