कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलन पनि शेखरले गरे ‘वहिष्कार’

कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा सुरू भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा प्राय: शीर्ष सबैजसो नेता उपस्थित छन् । तर, शेखर कोइराला भने आएनन् ।
सम्मेलनमा सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापालगायतको उपस्थिति छ । नेताहरू डा. शशाङ्क कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, डिना उपाध्यायलगायत पनि धनगढी आएका छन् ।
१४औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइरालाले आगामी महाधिवेशनमा पनि सभापतिको प्रमुख दाबेदारको रूपमा आफूलाई उभ्याइरहेका छन् । उनी पछिल्लो समय कांग्रेसका भेला र सम्मेलनहरू प्रति रुष्ट छन् ।
यसअघि पोखरा र लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा पनि अधिकांश नेता पुग्दा उनी गएनन् । उनले कहिँ निम्तो नगरिएको त कहिँ आधिकारिक व्यक्तिबाट खबर नआएको बताएका थिए ।
सुदूरपश्चिम प्रदेशमा भने आमन्त्रण गर्दा पनि नआएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।
‘हामीले निम्तो पनि दिएका थियौँ फोन पनि गरेका थियौँ तर, उहाँ (शेखर कोइराला) आउनुभएन ’, उनले भने ‘किन आउनु भएन भन्ने कुरा त उहाँलाई नै थाहा होला ।’
तपाईको प्रतिक्रिया