कांग्रेसमा अन्तर्घात भन्ने रोग छ , त्यसलाई निर्मूल नगरे पार्टी बन्दैन : सभापति देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अन्तर्घातले समस्या सृजना गरिरहेको टिप्पणी गरेका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी भित्रको अन्तर्घात अन्त्य गर्नुपर्ने बताएका थिए ।
‘पार्टी भित्र अन्तर्घात भन्ने रोग लागेको छ । त्यसकालागि सादा सदाकालागि निर्मूल गर्नु पर्छ । पार्टी भित्र लड्ने हो । भोट हाल्ने बेलामा एक भएर पार्टीलाई जिताउने गरि लाग्ने हो त्यसरी लागे मात्रै पार्टी अगाडी बढ्छ’ सभापति देउवाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भनेका थिए । सुदूरपश्चिमबाट यसको सुरुवात गर्न समेत सबैलाई उनले आग्रह गरेका थिए ।
देउवाले एमालेसँग सहकार्य गर्नुपरेको कारणबारे पनि प्रस्ट पारेका थिए । ‘कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत नभएको हुँदा कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी भएपनि बहुमत हामीसँग छैन। भोली पनि हुने सम्भावना कम छ ’ उनले भने, ‘एक भएर लागे हाम्रो पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्छ ।’
कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनाउन उनले सबै नेता कार्यकर्तालाई मतभेद र असहमति अन्त्य गर्दै अगाडी बढ्न आह्वान गरेका थिए । एमालेसँग भएको सहकार्यबारे उल्लेख गर्दै अव आफू प्रधानमन्त्री बन्ने पालो आउने देउवाको भनाइ थियो । कांग्रेस एमाले सहकार्य भएपनि दुबै दलले एक अर्कालाई प्रतिस्पर्धी रुपमा हेरिरहेको उनले बताए ।
‘अहिलेको एमाले पार्टी नेता केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पछि छोड्नु हुने छ । मलाई प्रधानमन्त्री बनाउने उहाँहरूले सहमति गर्नु भएको छ ’ उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टी कोही हो भने एमाले हो । एमालेको पनि मुख्य प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस हो ।’
विगतमा पनि सबैको सहयोगले प्रधानमन्त्री भएको भन्दै देउवाले फेरी प्रधानमन्त्री बन्न पनि सबैको साथ आवश्यक रहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया